मोबाइल फोनको उच्च माग, पाँच महिनामा भित्रिए २३ अर्ब रुपैयाँ हाराहारीका डिभाइस

  • Technology Khabar | १३ पुष २०७८, मंगलवार
मोबाइल फोनको उच्च माग, पाँच महिनामा भित्रिए २३ अर्ब रुपैयाँ हाराहारीका डिभाइस
सांकेतिक तस्बिर

काठमाडौं ।

यो आर्थिक वर्षको शुरुवाती ५ महिनामा नेपालमा २२ अर्ब ९७ करोड २४ लाख ६९ हजार रुपैयाँ बराबरको मोबाइल फोन (स्मार्ट तथा फिचर दुवै) आयात भएका छन्।

देशमा मोबाइल नेटवर्कको बिस्तार तथा मानिसहरुको मोबाइल फोन प्रयोग गर्ने बानीमा बढोत्तरी भएका कारण बर्सेनि मोबाइल फोनको माग बढ्न थालेको छ।

भन्सार विभागले हालै अद्यावधिक गरेको आर्थिक वर्ष २०७८/७९ को शुरुवाती पाँच महिना अर्थात् श्रावणदेखि मंसिर मसान्तसम्ममको प्रतिवेदन अनुसार नेपालमा ३० लाख ६० हजार ४३७ थान मोबाइल सेट भित्रिएका छन्।

यो परिमाणको सेटमा सस्ता तथा महँगा साथै स्मार्ट तथा बार/फिचर फोन रहेका र यिनीहरुको समग्र मूल्य २२ अर्ब ९७ करोड २४ लाख ६६ हजार रुपैयाँ रहेको छ।

यीमध्ये सबैभन्दा बढी चीनबाट १३ अर्ब ५६ करोड ८९ लाख ३६ हजार रुपैयाँ बराबरको २२ लाख ९९ हजार ५८० थान मोबाइल आयात भएका छन्।

त्यसपछि भारतबाट ८ अर्ब ४४ करोड ६ लाख २१ हजार बराबरको ६ लाख १ हजार ५४३ थान र भियतनामबाट ६९ करोड ५९ लाख ९४ हजार बराबरको१ लाख ४८ हजार ८४६ थान मोबाइल भित्रिएका छन्।

यस्तै  यूएईबाट ८ करोड ७८ लाख १४ हजार, बंगलादेशबाट ५ करोड, ४३ लाख ५७ हजार, अस्ट्रेलियाबाट १ करोड ३७ लाख ५४ हजार, हङकङबाट १ करोड ६१ लाख १७ हजार, जापानबाट १ करोड ३७ लाख, कतारबाट १ करोड ५१ लाख ७८ हजार तथा अमेरिकाबाट ४ करोड ४२ लाख १५ हजार रुपैयाँ बराबरका मोबाइल फोन ल्याइएको तथ्याङ्क छ।

यो सूचीमा साउदी अरेबियाबाट१० लाख ७८ हजार, मलेसियाबाट १३ लाख २० हजार, कुवेतबाट २० लाख ५२ हजार, कोरियाबाट ६१ लाख ९८ हजार तथा बेलायतबाट ५२ लाख ४ हजार  बराबरका मोबाइल डिभाइस आयात भएका देखिएको छ।

यीबाहेक पनि विश्वका अन्य ३४ देशबाट २ हजारदेखि ७ लाख १८ हजार रुपैयाँसम्मका १ देखि ७३ थान मोबाइल फोन आयात भएका छन्।

गत वर्षको सोही अवधिको भन्दा ५ अर्ब ३२ करोड बढीको आयात

गत आर्थिक वर्ष २०७७/७८ को शुरुवाती पाँच महिनामा नेपालमा जम्मा १७ अर्ब ६४ करोड ६४ लाख ८८ हजार रुपैयाँ बराबरको २७ लाख ७२ हजार ८४३ थान मोबाइल आयात भएको थियो।

यस वर्षको सोही अवधिमा २२ अर्ब ९७ करोड २४ लाख ६९ हजार रुपैयाँ बराबारको ३० लाख ६० हजार ४३७ थान मोबाइल भित्रिएका छन्।

तुलनात्मक हिसाबले हेर्दा गत वर्षको उक्त अवधिको भन्दा यस वर्ष २ लाख ८७ हजार ५९४ थान मोबाइल बढी आयात भएको छ भने कारोबार रकम पनि ५ अर्ब ३२ करोड ७८ लाख ८१ रुपैयाँले बढी रहेको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ।

प्रकाशित: १३ पुष २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

‘Hello Home Call Center’ launched

  • Technology Khabar
  • १३ पुष २०७८, मंगलवार