काठमाडौं ।
परम्परागत साउदी पोसाक लगाएका चिनियाँ ह्युमनोइड रोबोटले रियादमा आयोजित एक कार्यक्रममा परम्परागत ‘अर्दाह’ नृत्य प्रस्तुत गरेका छन्। रोबोटको नृत्य देखेर कार्यक्रममा सहभागीहरू अचम्मित भएका थिए।
समन्वयमा गरिएको नृत्यको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। यो प्रस्तुति रियादस्थित चिनियाँ दूतावासले आयोजना गरेको स्वागत कार्यक्रममा गरिएको थियो।
रोबोटहरूले औपचारिक तरबार बोकेर परम्परागत ढोलको तालमा समन्वय गरेर विभिन्न गतिविधि प्रदर्शन गरेका थिए।
टेलिग्राफका अनुसार कार्यक्रममा रियाद क्षेत्रका मेयर प्रिन्स फैसल बिन अब्दुलअजिज बिन अय्याफ अल-मुकरीन र साउदी अरबका लागि चिनियाँ राजदूत चाङ ह्वा पनि उपस्थित थिए।
अर्दाह साउदी सांस्कृतिक सम्पदाको महत्वपूर्ण हिस्सा हो। यो सामान्यतया पुरुषहरूको समूहले तरबार बोकेर ढोल र परम्परागत कविताको साथमा प्रस्तुत गर्ने गर्छन्।
रोबोटको यो प्रस्तुतिपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन्। केही प्रयोगकर्ताले रोबोटको सटीक गतिविधिलाई रोबोटिक्स र कृत्रिम बुद्धिमतामा चीनको प्रगतिका रूपमा प्रशंसा गरेका छन् भने केहीले रोबोटले अर्दाहको वास्तविक अर्थ र सांस्कृतिक भावनालाई प्रस्तुत गर्न सक्छन् कि सक्दैनन् भन्ने विषयमा बहस गरेका छन्।
प्रकाशित: २१ आश्विन २०८३, बुधबार