रेडियो एक्सेस नेटवर्क-आरएएन बजारमा पाँच वर्षयताकै सबैभन्दा उच्च त्रैमासिक वृद्धि
काठमाडौं ।
डेलोरोको नयाँ तथ्यांकअनुसार सन् २०२६ को तेस्रो त्रैमासिकमा विश्वव्यापी रेडियो एक्सेस नेटवर्क (आरएएन) को बिक्री अघिल्लो वर्षको सोही अवधिको तुलनामा एकल अंकको मध्य तहमा वृद्धि भएको छ।
यो वृद्धि निकै ठूलो देखिँदैन। तर डेलोरोका अनुसार यसले कम्पनीको अपेक्षाभन्दा राम्रो प्रदर्शन गरेको छ। साथै, यो झन्डै पाँच वर्षयताकै सबैभन्दा तीव्र त्रैमासिक वृद्धि हो। सन् २०२१ मा उच्च बिन्दुमा पुगेपछि निरन्तर ओरालो लागेको आरएएन बजारका लागि यो सकारात्मक संकेत हो।
डेलोरोले तेस्रो त्रैमासिकको यो वृद्धिले बजार स्थिर हुँदै गएको संकेत गरेको जनाएको छ। बजारमा लगातार चौथो त्रैमासिक पनि सामान्य वृद्धि देखिएको छ।
“दुई वर्षभन्दा बढी समयको संकुचनपछि आरएएन बजार स्थिर हुँदै गएको हाम्रो दृष्टिकोणलाई तेस्रो त्रैमासिकको नतिजाले थप पुष्टि गरेको छ,” डेलोरोका उपाध्यक्ष स्टेफन पोङग्राट्जले भने, “बजारको सुधार सबै क्षेत्रमा समान छैन। तर अपेक्षाभन्दा राम्रो नतिजा र विभिन्न क्षेत्रको सुधारोन्मुख प्रवृत्ति उत्साहजनक छन्।”
भौगोलिक रूपमा मध्यपूर्व तथा अफ्रिका (एमईए) र चीनबाहेकको एसिया प्रशान्त क्षेत्र (एपीएसी) ले बजारको अधिकांश वृद्धिमा योगदान गरेका छन्।
ह्वावे, एरिक्सन, नोकिया, जेडटीई र सामसङ विश्वका शीर्ष पाँच आरएएन उपकरण आपूर्तिकर्ताका रूपमा कायम छन्। यी पाँच कम्पनीले संयुक्त रूपमा विश्वव्यापी बिक्रीको ९७ प्रतिशत हिस्सा ओगटेका छन्। डेलोरोका अनुसार एरिक्सनको बजार हिस्सा करिब एक प्रतिशत बिन्दुले बढेको छ भने सामसङको हिस्सा घटेको देखिन्छ।
यद्यपि पोङग्राट्जले बजारको भविष्यबारे सावधानी अपनाउनुपर्ने बताएका छन्।
“यससँगै बजारका आधारभूत अवस्थाहरूमा उल्लेखनीय परिवर्तन आएको छैन। आगामी केही वर्षसम्म बजारको अवस्था लगभग स्थिर रहने हाम्रो अपेक्षा छ,” उनले भने। ठूलो स्तरमा हार्डवेयर जडान हुने अवस्था आउन अझै केही वर्ष लाग्ने भएकाले यस्तो आकलनलाई स्वाभाविक मानिएको छ।
तर विश्वका धनी व्यक्तिमध्ये एक एलन मस्कको स्वामित्वमा रहेको स्पेसएक्सले विश्वकै ठूलो मोबाइल बजारमध्ये एकमा परिवर्तन ल्याउने महत्वाकांक्षी योजना अघि सारेको छ।
स्पेसएक्सले आफ्नो स्टारलिंक न्यून पृथ्वी कक्ष (एलईओ) उपग्रह सञ्जाललाई विस्तार गर्दै स्थलीय नेटवर्कसमेत सञ्चालन गर्ने योजना बनाएको छ। यसले एटी एन्ड टी, टी–मोबाइल र भेरिजोनका सेवाको विकल्प उपलब्ध गराउने लक्ष्य राखेको छ।
टेलिकम्स डटकमका अनुसार स्पेसएक्ससँग उसका सम्भावित प्रतिस्पर्धीको तुलनामा रेडियो फ्रिक्वेन्सी स्पेक्ट्रमको अभाव रहेको विषयमा पटक–पटक चर्चा हुँदै आएको छ। तर यसले मस्कको महत्वाकांक्षामा कुनै कमी ल्याएको देखिएको छैन।
यसै महिनाको सुरुमा क्वालकमले स्पेसएक्सको आगामी नेटवर्कका लागि प्रमुख आरएएन उपकरण आपूर्तिकर्ताका रूपमा काम गर्ने घोषणा गरेको थियो। क्वालकमले उक्त नेटवर्कलाई आफ्नो क्यूआरयू१०० रेडियो युनिट र क्यूडीयू१०० डिस्ट्रिब्युटेड युनिट उपलब्ध गराउनेछ।
त्यस्तै, सुरुमा फेम्टोसेलमार्फत स्थलीय नेटवर्कको कभरेज उपलब्ध गराउन सकिने मस्कको भनाइ आए पनि पछिल्ला रिपोर्टअनुसार स्पेसएक्सले अमेरिकाका विभिन्न टावर कम्पनीसँग छलफल गरेको छ। कम्पनीले ८० हजारसम्म टावर साइटमा पहुँच प्राप्त गर्ने प्रयास गरिरहेको बताइएको छ।
“आगामी सन् २०२७ उद्योगका लागि महत्वपूर्ण वर्ष हुनेछ। स्पेसएक्सले आफ्नो स्थलीय नेटवर्क निर्माण सुरु गर्न सक्नेछ भने कृत्रिम बुद्धिमतामा आधारित आरएएन (एआई आरएएन) को विस्तार पनि तीव्र हुनेछ,” डेलोरोले जनाएको छ।
“यी विकासक्रमले समयसँगै प्रतिस्पर्धाको अवस्थालाई परिवर्तन गर्न सक्ने भए पनि निकट भविष्यमा समग्र आरएएन खर्चमा यसको प्रभाव सीमित रहने अपेक्षा छ। सन् २०२७ मा विश्वव्यापी आरएएन आम्दानी लगभग स्थिर रहने र एकल अंकको न्यून तहमा गिरावट आउने अनुमान छ,” डेलोरोले भनेको छ।
अमेरिकाजस्तो ठूलो बजारमा प्रतिस्पर्धा गर्न नयाँ कम्पनीले अर्बौं डलर खर्च गर्दा विश्वव्यापी आरएएन बजारमा पनि प्रभाव पर्न सक्छ। तर त्यसको असर तत्कालै देखिने सम्भावना भने कम रहेको देखिन्छ।