दक्षिण कोरियाले साढे ३ अर्ब डलरमा फ्रन्टियर एआई मोडल विकास गर्ने

  • Technology Khabar | २१ आश्विन २०८३, बुधबार
दक्षिण कोरियाले साढे ३ अर्ब डलरमा फ्रन्टियर एआई मोडल विकास गर्ने

काठमाडौं ।

दक्षिण कोरियाले अत्याधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) विकासमा प्रतिस्पर्धा बढाउन सन् २०२७ देखि ४.७ ट्रिलियन वन (करिब ३.५ अर्ब अमेरिकी डलर) लागतको फ्रन्टियर एआई मोडल विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ।

दक्षिण कोरियाको विज्ञान तथा सूचना प्रविधि मन्त्रालयका अनुसार कार्यक्रम मार्च २०२७ देखि सुरु गर्ने योजना छ। सन् २०२७ को बजेट डिसेम्बरमा संसदबाट पारित भएपछि प्रतिस्पर्धात्मक बोलपत्रमार्फत प्रमुख विकासकर्ता छनोट गरिनेछ। मन्त्रालयले फेब्रुअरीमै विकासकर्ता छनोट हुन सक्ने जनाएको छ।

रोयटर्सका अनुसार सरकारले कार्यक्रममा सरकारी इक्विटी लगानीसँगै निजी क्षेत्रको लगानी परिचालन गर्ने योजना बनाएको छ। परियोजनाका लागि कम्प्युटिङ चिप, डाटा र दक्ष जनशक्तिलाई एकीकृत गरी उच्चस्तरीय कार्यसम्पादन गर्ने एआई मोडल विकास गर्ने लक्ष्य राखिएको छ।

मन्त्रालयका अनुसार यो कार्यक्रम दक्षिण कोरियाले अघि बढाइरहेको आफ्नै फाउन्डेसन मोडल विकास कार्यक्रमभन्दा अलग हुनेछ। फाउन्डेसन मोडल कार्यक्रम पनि निरन्तर रहनेछ र त्यसअन्तर्गत फेब्रुअरी २०२७ मा हुने तेस्रो चरणको मूल्यांकनबाट दुई टोली अन्तिम चरणका लागि छनोट गरिनेछ।

नयाँ कार्यक्रममा एउटा कम्पनी मात्रै नभई कम्पनीहरूको समूह, कन्सोर्टियम वा विशेष प्रयोजनका लागि गठन गरिएका कम्पनीले समेत सहभागिता जनाउन सक्नेछन्। स्टार्टअप, ठूला कम्पनी, विश्वविद्यालय र अनुसन्धानकर्तालाई कार्यक्रममा नेतृत्वदायी भूमिका खेल्न सक्ने गरी सहभागिताको दायरा खुला राखिने मन्त्रालयले जनाएको छ।

दक्षिण कोरियाले विश्वका अग्रणी एआई मोडल विकास गर्ने दौडमा आफ्नो क्षमता विस्तार गर्ने उद्देश्यले यो कार्यक्रम अघि बढाउन लागेको रोयटर्सले उल्लेख गरेको छ।

प्रकाशित: २१ आश्विन २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...