
काठमाडौं ।
अमेरिकी अटोमेकर जनरल मोटर्स कम्पनी, अल्फाबेट इंकको गुगल र यसको सेल्फ-ड्राइभिङ अटो-टेक्नोलोजी कम्पनी वेमोले बढ्दो कोभिड १९ संक्रमणको कारण अर्को महिनाको सुरुमा आयोजना हुने कन्जुमर इलेक्ट्रोनिक्स शो (सीईएस) व्यक्तिगत रूपमा उपस्थित नहुने कम्पनीहरूमा सामेल भएका छन्।
जीएम प्रमुख कार्यकारी मेरी बाराले जनवरी ५ मा वार्षिक सम्मेलनमा मुख्य भाषण दिने कार्यक्रम थियो, जसमा कम्पनीले पहिलो पटक आफ्नो इलेक्ट्रिक सिल्भेराडो पिकअप ट्रक देखाउने योजना थियो। बाराले अझै रिमोट भाषण र प्रस्तुतीकरण गर्ने एक प्रवक्ताले भनेको रोयटर्सले उल्लेख गरेको छ।
दुबै कम्पनीहरुले भर्चुअलरुपमा भने सीईएस २०२२ मा सहभागी हुने जानकारी दिएका छन् ।
यसैबीच बाइटडान्सको स्वामित्वमा रहेको टिकटकले भने साझेदार र विज्ञापनदाताहरूको लागि भर्चुअल कार्यक्रम आयोजना गर्ने बताएको छ। बिहीबार नै इन्टेल कर्पले सीईएसमा कर्मचारीहरूलाई कम गर्ने बताएको छ।
फेसबुक अभिभावक मेटा प्लेटफर्म इंक, ट्विटर इंक, लेनोभो ग्रुप, एटी एण्ड टी इंक र अमेजन डटकम इंकलगायत अन्य धेरै कम्पनीहरूले यसअघि व्यक्तिगत उपस्थितिको योजनाहरू छोडेका थिए। गत हप्ता, उनीहरूले ओमिक्रोनको फैलावटमा सावधानी अपनाएर कर्मचारीहरूलाई नपठाउने बताए।
सीईएस अधिकारीहरूले यो कार्यक्रम अझै पनि जनवरी ५ देखि ८ तारिखसम्म व्यक्तिगत रूपमा “कठोर सुरक्षा उपायहरू” सहित खोप आवश्यकताहरू, मास्किङ र कोभिड १९ परीक्षणहरूको उपलब्धता सहित आयोजित हुने जानकारी दिएका छन् ।
प्रकाशित: १० पुष २०७८, शनिबार