
काठमाडौं ।
सनराइज बैंकले सहकारीको ग्राहकले पनि भिसा डेविट कार्ड पाउने व्यवस्था सुरु गरेको छ।
यसको लागि बैंकले पायोनियर एसोसिएट्स (कोसिस सहकारी सफ्टवेयर), आइमार्क तथा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टमसँग सम्झौता गरेको छ । बैंकले यसको लागि भिसा इन्टरनेसलबाट समेत सहमति प्राप्त गरिसकेको जनाएको छ ।
सनराइज बैंकका नायव महाप्रबन्धक रविन नेपालले ४ वर्षको अथक प्रयासपछि सहकारीमा भिसा डेविड कार्ड प्रयोगमा ल्याउन सफल भएको जानकारी दिएका छन्।
‘यसले सबै सहकारीको तथ्यांक रहने र सेवा प्रवाहमा पनि सजिलो हुन्छ, ४ वर्षपछि सहकारीकका सदस्यलाई डिजिटल भुक्तानीमा ल्याउन सफल भएका छौं, सहकारीका सदस्यहरुले पनि सनराइज बैंकको जुनसुकै एटीएमबाट रकम लिन सक्नेछन्,’ उनले भने ।
यसको पहिलो चरणमा बैंकले चार सहकारी संस्थासँग सम्झौता गरिसकेको छ । बैंकको अनुसार भिसा ब्राण्ड अन्तर्गत सहकारी संस्थाको ग्राहकको लागि भिसा डेबिट कार्ड जारी गर्ने यो योजना दक्षिण एसियामा पहिलो हो ।
यस परियोजना अन्तर्गत जारी हुने कार्ड मार्फत हुने कारोबारको लागि सनराइज बैंकले मुख्यत सेटलमेन्ट बैंकको भुमिका निर्वाह गर्ने जनाएको छ।
प्रकाशित: ७ पुष २०७८, बुधबार