काठमाडौं ।
भन्सार छली गरेर अवैध रुपमा मोबाइल भित्र्याएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-७ गौरिघाट संगम चोक डेरा गरी बस्ने मिलन श्रेष्ठलाई सोमबार पक्राउ गरेको हो ।
रामेछाप लिखु गाउँपालिका-६ घर भएका २६ वर्षीय श्रेष्ठको साथबाट अवैधरुपमा भन्सार छली गरी ल्याएका विभिन्न ब्राण्डका १ सय ६७ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ । विभिन्न ब्राण्डका ती मोबाइलको मूल्य करिब १२ लाख ४४ हजार रुपैयाँ बराबर रहेको प्रहरीले उल्लेख गरेको छ ।
अवैधरुपमा भन्सार छली ल्याएका विभिन्न ब्राण्डका मोबाइलहरु श्रेष्ठको डेरा कोठामा लुकाएर राखेको भन्ने सूचनाको आधारमा उनको डेरा खोजतलासी गरिएको थियो ।
यस विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित: १८ फाल्गुन २०७७, मंगलवार