गुगलले अस्ट्रेलियाका मिडियाहरुलाई समाचार प्रयोग गरे बापत रकम दिन सहमत

  • Technology Khabar | २५ माघ २०७७, आईतवार
गुगलले अस्ट्रेलियाका मिडियाहरुलाई समाचार प्रयोग गरे बापत रकम दिन सहमत

काठमाडौं ।

गुगलले अस्ट्रेलियाका मिडियाहरुलाई रकम दिने नयाँ प्लेटफर्म सार्वजनिक गरेको छ ।

गुगलले यसको लागि छुट्टै प्लेटफर्म ‘न्युज शोकेस’ तयार पारेर सार्वजनिक गरेको हो । यसअघि अस्ट्रेलिया सरकारले मिडियाहरुलाई रकम तिर्नुपर्ने बारेमा ल्याउन लागेको कानूनको विरोधमा गुगल रहेको थियो ।

तर अन्तत गुगलले अस्ट्रेलिया सरकारले भनेअनुसार नै नयाँ प्लेटफर्म ल्याएको हो । हाल यसमार्फत सात वटा सञ्चार माध्यमलाई उनीहरुको समाचार सामाग्री राखेबापत रकम दिनका लागि गुगल तयार भएको हो ।

गुगलको न्युज शोकेस यसअघि गुगलको ब्राजिल र जर्मनीमा मात्र प्रस्तुत गरेको थियो ।

अस्ट्रेलिया सरकारले कन्टेन्टको प्रयोग गरेबापत रकम भुक्तानीका लागि बाध्य बनाएको खण्डमा आफ्नो सेवा नै बन्द गर्ने चेतावनी दिएको थियो ।

अस्ट्रेलिया सरकारले बाध्यकारी कानून ल्याउँदै गर्दा गुगल र फेसबुकले समाचार सामाग्रीहरुको लागि रकम भुक्तानी गर्न तयार भएका हुन् ।

यसअघि दुबैले नयाँ प्रस्तावित कानूनको विरोध गरिरहेका थिए ।

गत महिना गुगलका अस्ट्रेलिया तथा न्युजिल्याण्डका प्रबन्ध निर्देशक मेल सिल्भाले एक संसदीय सुनुवाईको क्रममा प्रस्तावित कानून आएमा आफूहरुले अस्ट्रेलिया छोड्नुको विकल्प नरहेको बताएका थिए ।

गुगलले आगामी दिनमा थप मिडियाहरुसँग सम्झौता गर्ने जनाएको छ । एजेन्सीहरुका साथ

प्रकाशित: २५ माघ २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...