
काठमाडौं ।
काठमाडौं । संचार तथा सूचना प्रविधि र अर्थमन्त्री डा युवराज खतिवडाले दूरसंचार क्षेत्रमा लाइसेन्स होल्ड गरेर बस्ने कार्यको अन्त्य हुनुपर्ने बताए । नेपाल दूरसंचार प्राधिकरणको २२ औं वार्षिकोत्सवको अवसर पारेर अन्यत्र छ भन्ने सुनेको तर दूरसंचार क्षेत्रमा पनि लाइसेन्स होल्ड गर्ने प्रवृत्तिलाई अन्त्य गरिनुपर्ने बताएका हुन् ।
‘सेवा प्रदान गर्छु भनेर लाइसेन्स दिने सेवा प्रदान नगर्ने ओगटने अनि तिमिले गरेको काम छिटो गर भन्दा अदालत जाने । यो कुराको पनि अन्त्य हुनुपर्दछ । यहाँ पनि त्यो प्रवृत्ति रहेछ यो त राष्ट्रिय रोग नै रहेछ यसको पनि अन्त्य हुनुपर्छ,’ उनले भने ।
छिटोछरितो सेवा लिने भनेर लाइसेन्स लिने तर काम नगर्ने भन्ने प्रश्न गर्दै यस्तो भएमा मुलुकको विकास रुपान्तरण कहिले हुन्छ र डिजिटल नेपालमा कहिले पुग्नसकिन्छ भन्ने उनले गुनासो गरे।
मन्त्री डा खतिवडाले यस्ता कुरामा निर्मम ढंगले नियमनकारी निकायले कारबाही गर्नुपर्ने बताए ।
‘यस्ता कुरामा दूरसंचार प्राधिकरणले मोलाहिजा नगरी निर्मम ढंगले कानूनले दिएको अधिकार प्रयोग गरि र विवेक प्रयोग गरेर जार्नुपर्दछ,’ संचार तथा सूचना प्रविधि मन्त्री डा खतिवडाले भने ।
उनले अन्य सेवा प्रदायकहरुले दूरसंचार पूर्वाधारको प्रयोग गर्नुपर्ने भन्दै विश्वभर दूरसंचार क्षेत्रमा उच्च नाफा नभएकोमा ध्यान दिन आग्रह गरे । उनले बिग डाटा, क्लाउड कम्पिटिसन, आर्टिफिसियल इन्टेलिजेन्सलगायत डाटाको व्यवसायमा आधारित काम गर्नुपर्ने बताए ।
‘ठूला ठूला इन्भेस्टमेन्टहरु, ठूला निर्णयहरु तत्काल बिग डाटामा आधारित हुने गरेको छ, अझ फिनटेकमा आधारित सेवाहरु त केहि सेकेण्डमा नै बिग डाटामा एक्सेस पाउन सक्नुपर्दछ अनि मात्र उनीहरुले निर्णय गर्न सक्दछन्,’ संचार मन्त्री डा खतिवडाले भने ।
बिग डाटाहरुको बिस्तारमा दूरसंचार प्राधिकरणले क्षमता बिस्तार गर्ने गरि काम गर्नुपर्ने उनले स्पष्ट पारे ।
संचार तथा सूचना प्रविधि मन्त्री र अर्थमन्त्री डा खतिवडाले नियमनकारी निकायलाई स्वायत्तरुपमा काम गर्नुपर्ने र जिम्मेबारीपूर्वक काम गरुन्जेल संचार मन्त्रालयले हस्तक्षेप नगर्ने भन्दै जवाफदेहिताको आधारमा अगाढि बढ्न सुझाब दिए ।
उनले नियमनकारी निकायको भूमिकामा ससक्तरुपमा अगाढि बढ्न सुझाव दिँदै अब तोक वा आदेशको भरमा अनुमति दिने प्रकृया हट्दै जाने बताए । अबको व्यवस्थापन भनेको स्वस्थ, स्वायत्त हुने भन्दै त्यसमा हेर्नुपर्ने बताए ।
‘मुलुकको स्रोतहरु कसलाई दिँदा राज्यलाई कति लाभ हुन्छ, सेवाग्राहीहरुलाई कति लाभ हुन्छ भन्ने निक्र्यौल गरेर दिनुपर्दछ, मुख हेरेर दबाब दिएर काम गर्दा नियमनकारीको भूमिका प्रश्न उठ्न सक्दछ,’ संचार मन्त्री डा खतिवडाले भने ।
कार्यक्रममा संचार मन्त्रालयका सचिव दिपक सुबेदीले आगामी दिनमा अझै चुनौतीपूर्ण रहेको बताउँदै फोरजी सेवा ७७ जिल्लामा पुगेपनि सेवाको गुणस्तरमा ध्यानदिनुपर्ने बताए ।
वार्षिकोत्सवममा प्राधिकरणका ११ कर्मचारीहरुलाई २० वर्ष सेवा गरेबापत दिर्घसेवा पदक प्रदान गरिएको थियो ।
प्रकाशित: २० फाल्गुन २०७६, मंगलवार