
काठमाडौं ।
श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएको कामदारको मृत्यु वा अंगभंग भएको खण्डमा आर्थिक सहायता लिन अब अनलाइनबाट नै निवदेन दिन सकिने भएको छ।
अबदेखि वैदेशिक रोजगारीको क्रममा मृत्यु तथा अंगभंग भएका श्रमिकका परिवारले पाउने आर्थिक सहायता तथा क्षतिपूर्ति अनलाइन प्रणाली प्रयोग गरी स्थानीय तहबाटै आर्थिक सहायताका लागि निवेदन सकिने वैदेशिक रोजगार बोर्डले जनाएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गर्दै सबै स्थानीय तहलाई वैदेशिक रोजगार बोर्डले अनलाइनबाट फर्म भर्न सक्ने व्यवस्थाबारे जानकारी गराएको छ।
सो सुबिधाका लागि नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको फागुन २९ को निर्णयबाट वैदेशिक रोजगार कल्याणकारी सूचना व्यवस्थापन प्रणाली (Foreign Employment Welfare Information Management System(FEWIMS)) कार्यविधि, २०७८ स्वीकृत भई कार्यान्वयनमा आइसकेको छ।
अनलाइनबाट प्रवाह हुने सेवाका लागि सेवाग्राहीहरुलाई सहजीकरण गर्न इच्छुक स्थानीय तहहरूले चैत मसान्तभित्र आधिकारिक व्यक्तिको सम्पर्क नम्बर, इमेल, ठेगाना र दस्तखत गरी सचिवालयमा पत्राचार गर्न बोर्डले आग्रह गरेको छ।
प्रकाशित: ११ चैत्र २०७८, शुक्रबार