अब ह्वाट्सएपमा फोटो र भिडियो खोज्न सजिलो हुने

  • Technology Khabar | १३ कार्तिक २०८३, शुक्रबार
अब ह्वाट्सएपमा फोटो र भिडियो खोज्न सजिलो हुने

काठमाडौं ।

ह्वाट्सएपले आईफोन प्रयोगकर्ताका लागि फोटो, भिडियो, लिंक तथा कागजातहरू सजिलै खोज्न सकिने नयाँ फिचर ल्याउने तयारी गरेको छ।

‘मिडिया हब नाम दिइएको यो फिचर गत वर्ष म्याक र वेब भर्जनमा प्रस्तुत गरिएको थियो। अब  ह्वाट्सएपको आईओएसको पछिल्लो बिटा संस्करण २६.४२.१०.७४ मा देखिएको छ। जीएसएमएरेनालाई बी९२ ले यसबारे जानकारी दिएको हो।

यो फिचर एपको सेटिङ्समार्फत प्रयोग गर्न सकिनेछ। यसले विभिन्न कुराकानीमा प्राप्त भएका मिडिया सामग्रीलाई एउटै स्थानमा देखाउनेछ। प्रयोगकर्ता आफैँले पठाएका फोटो, भिडियो तथा अन्य सामग्री र निश्चित समयपछि आफैँ हराउने सन्देश तथा सामग्री भने यसमा समावेश हुने छैनन्।

मिडिया हबमा दुईवटा सेक्सन हुनेछन्। न्यु सेक्सनमा हालै प्राप्त भएका सामग्री देखिनेछन् भने अल मिडिया सेक्सन उपलब्ध सबै सामग्री एकै ठाउँमा हेर्न सकिनेछ।

प्रयोगकर्ताले फोटो भिडियो र लिंकलाई छुट्टाछुट्टै वर्गीकरण गरेर खोज्न सक्नेछन्। सामग्रीलाई सूची वा ग्रिडको रूपमा हेर्न र आफूलाई मन परेका सामग्रीलाई हाइलाइट गर्न पनि सकिनेछ।

प्रत्येकमा फर्वार्ड गर्ने, प्रतिक्रिया जनाउने, स्टार मार्क गर्ने तथा उक्त सामग्री प्राप्त भएको मूल कुराकानीमा सिधै पुग्ने सुविधासमेत उपलब्ध हुनेछ।

यस फिचरको सबैभन्दा उपयोगी पक्षमध्ये खोज सुविधा हुने अपेक्षा गरिएको छ। यसमार्फत फोटो तथा भिडियोको विवरण र लिंकका आधारमा सामग्री खोज्न सकिनेछ। यसले कुनै सामग्री कहिले प्राप्त भएको थियो भन्ने कुरा याद नभए पनि त्यसलाई सजिलै फेला पार्न मद्दत गर्नेछ।

टेलिग्राफका अनुसार, हाल मिडिया हब विकासकै क्रममा रहेको छ र बिटा संस्करणका परीक्षकका लागि समेत उपलब्ध भइसकेको छैन। आगामी अपडेटमध्ये कुनै एकमा सीमित प्रयोगकर्तामाझ यसको परीक्षण सुरु गर्ने ह्वाट्सएपको तयारी छ।

प्रकाशित: १३ कार्तिक २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार