
काठमाडौं ।
काठमाडौं, ११ कात्तिक । मोबाईल सेवा प्रदायक एनसेलले आफ्ना ग्राहकहरुका लागि ‘मोबाईल टिभी प्याक’ ल्याएको छ । चाडपर्वको शुभ अवसरमा ल्याइएको यो प्याक अन्तर्गत एनसेलका सम्पुर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले अब सुलभ शुल्कमा आफ्नै मोबाईलमा अनलाइन टिभी हेर्न सक्नेछन् ।
नेपाली दुरसंचार क्षेत्रको इतिहासमा नै पहिलो पटक टिभी प्याकको सेवा शुरु गरेको दाबी गरिएको छ । यो प्याक सुचारु गर्ने ग्राहकहरुले नेट टिभी एप मार्फत अनलाइन टिभी हेर्न सक्नेछन् । नेट टिभी, एनआईटिभी स्ट्रिम्ज् प्रा.लिको प्रोडक्ट हो र एनसेलले एनआईटिभी स्ट्रिम्ज्सँग यो मोबाईल टिभी सेवाको लागि सहकार्य गरेको छ ।
यो मोबाईल टिभी प्याक कात्तिक १० गतेदेखि १५ दिनको लागि सञ्चालनमा आएको छ । एनसेलका ग्राहकले आफ्नो आवश्यकता अनुसार ३० मिनेट, १ घण्टा, २ घण्टा र ३ घण्टाको टिभी प्याक खरिद गरि नेट टिभी एप प्रयोग गर्न सक्नेछन् । ३० मिनेटको प्याकको शुल्क रु. ३५ तोकिएको छ । १ घण्टाको प्याकको रु. ६० पर्दछ भने २ घण्टा र ३ घण्टा प्याकको मुल्य क्रमशः रु. १०० रु. १५० निर्धारण गरिएको छ ।
यी चारै वटा प्याकहरु ग्राहकले प्रत्येक पटक प्याक खरिद गर्नुपर्ने वा सेवा प्रयोगको अवधि सकिएपछि स्वतः नविकरण हुने दुई किसिमबाट यो सेवा सुचारु गर्न सक्छन् । प्रत्येक पटक लिन मिल्ने प्याक २४ घण्टाको लागि मात्र मान्य हुनेछ र स्वत नविकरण हुने प्याक हरेक मध्यरातमा स्वतः नविकरण हुने बताईएको छ ।
प्याक खरिद गर्नका लागि ग्राहकहरुले एस्ट्रिक १७१३३ ह्यास डायल गरि आफ्नो आवश्यकता अनुसारको प्याक खरिद गर्न सक्नेछन् ।
एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । ‘‘मोबाईल डेटा सेवा र कन्टेन्ट दुवैको माग बढिरहेको बेलामा, ग्राहकले मोबाईल तथा टिभी दुवै सेवा एकिकृतरुपमा लिन सक्ने हुँदा यसले ग्राहकलाई थप मुल्य प्रदान गर्नेछ ।”
सुचारु गरिएको प्याकको अवधि सकिएपछि कर बाहेक प्रति एमबि रु ३ को विद्यमान शुल्क लागु हुने जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित: ११ कार्तिक २०७३, बिहीबार