
काठमाडौं ।
-साजन सुवेदी
नेपाल विद्युत प्राधिकरणले गत भदाैमा भरतपुर क्षेत्रबाट लगेका नेटवर्क उपकरणहरु ६ महिना बितिसक्दा पनि अझै फिर्ता नदिएको इन्टरनेट सेवा प्रदायकहरुले बताएका छन्।
नेपाल विद्युत प्राधिकरणले आफ्ना पोलमा आईएसपीहरुले अनधिकृत रुपमा र कुनै सम्झाैता नै नगरी तथा शुल्क नबुझाइ नेटवर्कका तार तान्ने र अन्य उपकरण राख्ने गरेको भन्दै गत भदाैमा भरतपुर क्षेत्रबाट केही उपकरणहरु लगेको थियो।
पोलभाडाको स्वघोषणा गरेर रकम बुझाउन तथा पोलभाडा सम्झौता गर्न गत कार्तिक मसान्तको म्याद दिइए पनि उक्त म्यादभित्र कुनै इन्टरनेट सेवा प्रदायक सम्झौता गर्न नगएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईले जानकारी दिएका थिए।
त्यतिबेला केही आईएसपीहरुले प्राधिकरणको खातामा रकम हालिदिएको बताइरहँदा प्राधिकरणले भने बिना सम्झौता आएको रकम आधिकारिक नहुने बताएको थियो।
इन्टरनेट अत्यावश्यक सेवामा पर्ने भएकाले अत्यावश्यक सेवा अवरुद्ध गर्नु कानून विपरीत हुने धारणासहित आईस्पानले प्राधिकरणको दरबारमार्गमा रहेको शाखा उजुरी दिई यसको बोधार्थ नेपाल दूरसञ्चार प्राधिकरण, गृह मन्त्रालय, भरतपुर विद्युत प्राधिकरण, जिल्ला प्रशासन कार्यालय भरतपुर, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा पनि पठाएको थियो।
अझै फिर्ता भएनन् उपकरण
इन्टरनेट सेवा प्रदायक संस्थाहरुको साझा संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान)का सीईओ सुवास खड्काले भरतपुरमा गत भदौमा लुटिएका उपकरणहरु नेपाल विद्युत प्राधिकरणले अझैसम्म नदिएको गुनासो गरेका छन्।
उनका अनुसार सबै आईएसपीहरुले स्वघोषणा गरेर रकम तिरिसकेको भए पनि प्राधिकरणले अझैसम्म उपकरण फिर्ता दिएको छैन्।
त्यसैगरी देशभर नेटवर्क भएको वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका एक उच्च अधिकारीले आफूहरुले रकम तिरिसके पनि स्वघोषणालाई अमान्य भन्दै प्राधिकरणले पटक पटक उपकरण लगेको र तार काट्ने धम्की दिएको बताए।
हामीले सम्बन्धित बितरण केन्द्रहरुमा रकम तिरेको र स्वघोषणा समेत गरिसकेका छौं। तर अझै हाम्रा उपकरणहरु फिर्ता गरिएको छैन् र नयाँ उपकरणहरु समेत लुटेर लगिएको छ। स्वघोषणा गर भन्ने तर त्यसलाई नै नमान्ने एनईएको कस्तो नियम हो ? उनले टेक्नोलोजीखबरसँग भने ।
यस सम्बन्धमा नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराई भन्छन्, ‘उपकरण फिर्ता नभएको हो भने उहाँहरुले कुनै अवैध काम गर्नुभयो वा प्राधिकरणको बाँकी बक्याैता बुझाउनुभएन।’
उता आईएसपीहरुले भने आफूहरुले रकम बुझाइसकेको र त्यसपछि पनि प्राधिकरणले उपकरण जफत गर्ने र सूचना छाप्दै तार काट्ने चेतावनी दिन नछोडेको आरोप लगाएका छन्।
आईएसपीहरुका तर्फबाट रकम बुझाइसकिएको दावीका सम्बन्धमा उनले बक्यौता रकम सबै नबुझाई उपकरण फिर्ता नहुने पनि चेतावनी दिए।
सम्झौता नगरे अरु उपकरण पनि लुट्ने
यस्तै नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका उप कार्यकारी निर्देशक मनोज सिलवालले टेक्नोलोजीखबरसँग भने, ‘ पटक पटक आह्वान गरेर आफ्ना पूर्वाधारको विवरणसहित सम्झौता गर्न बोलाउँदा पनि हालसम्म कुनै सेवा प्रदायक सम्झौता गर्न आएको छैन।’
उनले नियम अनुरुप सम्झौता नगरी बुझाएको रकम मान्य नहुने र सम्झौतापछि मात्रै के कसरी बाँकी बक्यौता तिर्ने भन्ने सम्बन्धमा अगाडि बढ्न सकिने बताए।
पहिले भरतपुरबाट लगिएका उपकरण फिर्ता नभएको र तार काट्ने सूचना सम्बन्धमा उनले भने, ‘उपकरण फिर्ता होइन, नियम अनुसार सम्झौता गरेर बक्यौता नबुझाए हामी अरु उपकरण पनि लुट्छौं।’
विद्युतीय पोल प्रयोग तथा सोको भाडा भुक्तानी एवं उपयोग सम्बन्धमा सिफारिश गर्न बनेको विनोदप्रकाश सिंह नेतृत्वको समितिको प्रतिवेदनसम्बन्धमा सम्बन्धमा उनले समितिले दिएका सुझाव प्रस्तावमात्रै भएको र त्यसमाथि प्राधिकरणले अध्ययन गरिरहेको बताए।
सम्झौता गरेपछि मात्रै किस्ताबन्दी वा के कसरी बाँकी बक्यौता तिर्ने भन्नेबारे अगाडि बढ्न सकिने उनको भनाई थियो।
*समाचार सम्पादित
प्रकाशित: २९ फाल्गुन २०७८, आईतवार