सम्झौता नगरी पोल प्रयोग गर्ने इन्टरनेट/केवल टि.भि. सेवा प्रदायकको तार काटिदिने चेतावनी

Technology Khabar २३ फाल्गुन २०७८, सोमबार

सम्झौता नगरी पोल प्रयोग गर्ने इन्टरनेट/केवल टि.भि. सेवा प्रदायकको तार काटिदिने चेतावनी
नेपाल विद्युत प्राधिकरण चितवन बितरण केन्द्रका कर्मचारी पोलमा रहेको इन्टरनेटको तार काट्दै। फाइल तस्बिर

काठमाडौं ।

सम्झौता नगरी विद्युतीय संरचनाहरू प्रयोग गरी तथा अप्टिकल फाइवरभाडामा लिई टेलिफोन/इन्टरनेट/केवल टि.भि. सेवा सञ्चालन गर्ने सेवा प्रदायक संस्थाहरू नेपाल विद्युत प्राधिकरणले तार काटिदिने चेतावनी दिएको छ ।

प्राधिकरणले आज सार्वजनिक सूचनामार्फत टेलिफोन/इन्टरनेट/केवल टि.भि. सेवा सञ्चालन गर्ने सेवा प्रदायक संस्थाहरूलाई नियमानुसार सम्झौता गर्न, नवीकरण गर्न र हाल सम्मको बाँकी बक्यौता रकम भुक्तानी गर्न भनेको हो ।

सो नगरी सेवा संचालन गरेको खण्डमा सेवाप्रदायकहरुको तार जुनसुकै बेला काटिदिने र त्यसबाट पर्ने असरको जिम्मेबारी स्वयं सेवा प्रदायकहरुले लिनुपर्ने चेतावनी दिएको हो।

प्राधिकरणको विद्युतीय संरचनाहरू प्रयोग गरी तथा अप्टिकल फाइवरभाडामा लिई टेलिफोन/इन्टरनेट/केवल टि.भि. सेवा सञ्चालन गर्ने सेवा प्रदायक संस्थाहरू मध्ये अधिकांश सेवा प्रदायकहरूले नियमानुसार सम्झौता नगरी विद्युतीय संरचनाहरू प्रयोग गरिरहेको भन्दै  नियमानुसार सम्झौता गर्न, नवीकरण गर्न एवं हाल सम्मको बाँकी बक्यौता रहेको भाडा रकम भुक्तानी गर्न भनेको हो।

त्यसैगरी नयाँ सम्झौता नभएसम्म नयाँ लाइन विस्तारको कार्य नगर्न/नगराउनु हुन समेत प्राधिकरणले भनेको छ।

“नियमानुसार सम्झौता नगर्ने सेवा प्रदायकहरूले लाइन विस्तार गरेको पाइएमा लाइन विस्तारका सामग्रीहरू ने.वि.प्रा.ले नियन्त्रणमा लिनसक्ने तथा ने.वि.प्रा.को विद्युतीय संरचनाहरूमा जडान भएका अप्टिकल फाइवर तथा अन्य उपकरणहरू जुनसुकै बेला हटाउन सक्ने र यसबाट निस्कने परिणामको जिम्मेवार सम्बन्धित सेवा प्रदायक संस्था नै हुने व्यहोरा समेत अनुरोध छ,” प्राधिकरणको सूचनामा भनिएकोछ।

प्रकाशित: २३ फाल्गुन २०७८, सोमबार

तपाइको प्रतिक्रिया