
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तरको बारेमा सर्वेक्षण गर्न मोबाइल एपसहितको एकीकृत प्लेटफर्म सार्वजनिक गरेको छ। प्राधिकरणको २४ औँ वार्षिकोत्सवको अवसरमा नियामक निकायले ‘एननटीए क्यूओई(NTA QoE)’ नामक एप ल्याएको हो।
यस सर्वे एपमार्फत मोबाइल सेवाग्राहीहरुले गुणस्तरको बारेमा आफ्नो अनुभवसहित सहभागी हुन सक्नेछन्।
यसमा शर्टकोड ३४५६७ तथा यूएसएसडीमा आधारित *३४५६७# डायल गरेर, आईभीआरमार्फत सहभागीलाई ३४५६ डायल गरेर तथा मोबाइल एपमार्फत सहभागी हुन सकिनेछ।
मोबाइल एप ‘एननटीए क्यूओई‘ नामक एप गुगल वा आईओएसको एप स्टोरबाट डाउनलोड गर्नुपर्नेछ।
यस प्लेटफर्महरुमा विभिन्न प्रश्नहरुको उत्तर दिएर सहभागी हुनसकिनेछ ।
यसको आधारमा नियमनकारी निकायले सेवा गुणस्तरको मापदण्ड भए नभएको तथा गुनासो बारे सुधार र कारबाही गरिने बताईएको छ।
इन्टिग्रेटेड प्लेटफर्मको रुपमा रहेको यो एपको नाम एनटीए क्यूओई सर्भे एप राखिएको छ। इन्टरनेट तथा दूरसञ्चार सेवाका उपभोक्तालाई गुणस्तरीय सेवाको अनुभूति गराउन यो एप ल्याइएको नियामकले जनाएको छ।
प्रकाशित: २० फाल्गुन २०७८, शुक्रबार