क्रिप्टोकरेन्सी कारोबार गर्ने एक जना न्यूरोडबाट पक्राउ, एक महिनामै डेढ करोडको कारोबार

  • Technology Khabar | १९ माघ २०७८, बुधबार
क्रिप्टोकरेन्सी कारोबार गर्ने एक जना न्यूरोडबाट पक्राउ, एक महिनामै डेढ करोडको कारोबार

काठमाडौं ।

क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा प्रहरीले फेरी एक जनालाई पक्राउ गरेको छ। नेपालमा र नेपालीहरुका लागि क्रिप्टोकरेन्सी कारोबार गैरकानूनी रहेकोमा प्रहरीले यसअघि ३७ करोड रुपैयाँ कारोबार गर्ने एकजनालाई पक्राउ गरेकोमा हाल काठमाडौँको न्यूरोडस्थित गुच्चाटोलबाट एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका घर भई भक्तपुरमा बस्दै आएका रवीन्द्र अधिकारी भनिने चन्द्रमणि अधिकारी छन्। उनले फेन्सी पसलको कारोबार गर्दै आएका थिए।

३० वर्षीय अधिकारीलाई माघ १६ मा पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयले जानकारी दिएको छ। आरोपीलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागी महानगरीय प्रहरी परिसरको जिम्मा लगाइएको छ।

प्रहरीकाअनुसार अधिकारीले १ करोड ४८ लाख ४४ हजार डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’को कारोबार गरेको देखिएको छ।

“उनको पछिल्लो कारोबार हेर्दा एक महिनामा नै डेढ करोड कारोबार गरेको देखिएको छ।” परिसरका प्रवक्ता (एसपी) सन्तोष सिंह राठौरले टेक्नोलोजीखबरलाई भने, “उनी एक्लैले गरेको हो वा सञ्जाल नै छ भनेर हामी अनुसन्धान गरिरहेका छौं।”

प्रहरीले उनलाई बैंक तथा वित्तीय संस्था ऐनअनुसार पक्राउ गरेको जनाएको छ। अधिकारीले कुन क्रिप्टोकरेन्सी कारोबार गरिरहेका थिए भनेर अनुसन्धान गरिरहेको राठौरले बताए।

यसअघि प्रहरीले दिनेश खड्कासहित ४ जनालाई ३७ करोड रुपैयाँ अवैध विदेशी मुद्रा कमाएको आरोपसहित पक्राउ गरेको थियो। उनीहरुले सो रकम बाइनान्सबाट कारोबार गरेर हासिल गरेका थिए।

राजस्व अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेसँगै दिनेशसँग जिल्ला अदालतले २५ लाख रुपैयाँ धरौटी माग गरेको छ।

प्रकाशित: १९ माघ २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार