
काठमाडौं ।
फक्सवागन ग्रुपको चिनियाँ इकाइले बिहीबार तियान्जिनमा रहेका दुई ओटा फ्याक्ट्री बन्द गर्ने घोषणा गरेको छ।
तियान्जिनमा एफएडब्लू ग्रुपसँगको साझेदारीमा खोलिएका दुई ओटा पार्टपुर्जा बनाउने फ्याक्ट्रीहरु त्यहाँ फैलिरहेको कोभिड-१९ का कारण बन्द गर्न लागेको बताएको हो।
‘हालको कोभिड १९ महामारीका कारण एफएडब्लू-भीडब्लू तथा भीडब्लू अटोमेटिक ट्रान्समिसन तियान्जिन कम्पोनेन्ट फ्याक्ट्री सोमबारदेखि बन्द गरिएका छन्’, कम्पनीका एक प्रवक्ताले रोयटर्सलाई बताए।
यी दुवै प्लान्टहरुमा कर्मचारीहरुको कोभिड-१९ परीक्षण दुई पटक गरिएको र त्यसको नतिजा आउन भने बाँकी रहेको छ।
यसैबीच उत्पादन छिट्टै पुन: सञ्चालनमा आउने र हाल गुमाएका उत्पादन पनि त्यति बेला नै गर्ने कम्पनीको अपेक्षा रहेको छ। कम्पनीले आफ्ना कर्मचारीको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको बताएको छ।
उत्तरी चीनमा रहेको तियान्जिनमा बुधबारसम्म ४१ जना कोरोना संक्रमित पुष्टि भइसकेको र यो आँकडा मंगलबारको तुलनामा ३३ ले बढेको हो।
प्रकाशित: २९ पुष २०७८, बिहीबार