
काठमाडौं ।
काठमाडौं, १४ साउन । एप्पलको नयाँ फ्ल्यागशिप आईफोन सेभेन (iPhone 7) यहि सेप्टेम्बर १२ तारिखमा सार्वजनिक हुने हल्लाहरु यसअघि आएपनि नयाँ आईफोन सेप्टेम्बर ६ तारिखमा सार्वजनिक हुने यसका जानकारहरुले बताएका छन् । त्यसैगरी नयाँ आईफोनको प्रि अर्डरको जानकारी पनि बाहिर आएको छ ।
नयाँ आउने आईफोन सेभेन तथा आईफोन सेभेन प्रो (iPhone 7 Pro) को आधिकारिकरुपमा प्रि-अर्डर सेप्टेम्बर ९ तारिखदेखि हुने भएको छ । तर यसको शिपमेन्ट भने त्यसको एक सातापछि मात्र हुने अाईफोनको बारेमा जानकारीहरु लीक गर्दै आएका इभान ब्लासले ट्वीटरमार्फत जानकारी दिएका छन् ।
एप्पलले यहि सेप्टेम्बरमा सार्वजनिक गर्न लागेको नयाँ आईफोन सेभेनको आधिकारिक मिति घोषणा नभएपनि यसका जानकारहरुले भने सेप्टेम्बर ६ वा ७ तारिखमा नै सार्वजनिक हुने दाबी गरेका छन् ।
यसअघि गत वर्ष आईफोन सिक्स एस सेप्टेम्बर ९ तारिखमा सार्वजनिक भएको थियो भने प्रि-अर्डरहरु १२ तारिखदेखि गरिएको थियो तर बिक्री भने सेप्टेम्बर २५ तारिखदेखि शुरु भएको थियो ।
३.५ मिलिमिटरको हेडफोन ज्याक
पछिल्ला दिनहरुमा आईफोन सेभेन तथा सेभेन प्रोको दाबी गरिएका विभिन्न तस्विरहरु बाहिर आएका छन् । केहि तस्विरहरु चीनियाँ साइट वेबोमार्फत सार्वजनिक भएका छन् । यदि यी तस्विरहरु सहि हुन भने यसमा ३.५ मिलिमिटरको अडियो ज्याक रहेको स्पष्ट देख्न सकिन्छ । यसमा आईफोन सिक्स एस प्लसमा जस्तै हुने बताईएको छ ।
आईफोन सेभेनमा थ्री डी टच होम बटन
उता आईफोन सेभेनकोे बारेमा नयाँ जानकारी आएको छ । यो स्मार्टफोनको नाम आईफोन सिक्स एसई (iPhone 6SE) पनि हुनसक्ने अनुमान केहिले गरिरहेका छन् । कम्पनीले केहि अघि मात्र ४ इन्चको आईफोन ५ एसई सार्वजनिक गरेको आधारमा यो अनुमान गरिएको हो ।
त्यस्तै नयाँ आईफोनमा थ्री डी टच होम बटन (3D touch home button) रहने हल्लाहरु बाहिर आएका छन् । यस्तो फीचर भर्खरैको म्याकबुक टचप्याडमा भएजस्तै गरि कार्य गर्दछ । अर्कोतर्फ यो वर्ष एप्पलले ब्ल्याक कलरमा आईफोन सेभेन ल्याउन सक्ने अनुमान पनि गरिएको छ । तर यी सबै हल्लाहरुका बिचमा सहि के हो भन्ने आगामी दिनमा थाहा हुने अपेक्षा गर्न सकिन्छ ।
प्रकाशित: १४ श्रावण २०७३, शुक्रबार