
काठमाडौं ।
स्पेसएक्सका सीईओ इलन मस्कले उनको कम्पनी स्टारलिंकको स्याटेलाइट इन्टरनेट परियोजनाले अन्तरिक्षमा धेरै ठाउँ ओगटेको भन्ने आरोप अस्विकार गरेका छन्।
उनले अन्तरिक्षमा दशाैं अर्ब स्याटेलाइट अटाउने द फाइनान्सियल टाइम्सलाई बताएका छन्।
उनको यो टिप्पणी यूरोपियन स्पेस एजेन्सी ईएसएका प्रमुखले इलन मस्कले उदीयमान व्यावसायिक अन्तरिक्ष उद्योगको ‘नियम बनाइरहेको’ आरोप लगाएपछि आएको हो।
यसै हप्ता चीनले आफ्नो स्पेस स्टेशनमा स्टारलिंकका स्याटेलाइटको ठक्करको जोखिम भोगेको बताएकव थियो।
तर मस्कले भने एउटा अन्तरवार्तामा भनेका छन्, ‘अन्तरिक्ष निकै ठूलो छ र स्याटेलाइटहरु निकै नै साना छन्।’
मस्कले आफ्नो स्टारलिंक इन्टरनेट सर्भिस परियोजनाले प्रतिस्पर्धी स्याटेलाइट कम्पनीहरुको प्रवेशमा बाधा पुर्याएको भन्ने आरोपको खन्डन गर्दै पृथ्वीको अर्बिटमा स्याटेलाइटका लागि पर्याप्त ठाउँ उपलब्ध रहेको बताएका छन्।
‘यो कसैले कसैलाई कुनै पनि प्रकारले अवरोध पुर्याएको अवस्था होइन। हामीले कसैलाई केही गर्नबाट रोकेका छैनो र रोक्ने अपेक्षा पनि गर्दैनो’, उनले भने।
मस्कले केही हजार स्याटेलाइट अन्तरिक्षका लागि नगण्य रहेको बताउँदै यो पृथ्वीमा केही हजार कार भएजस्तै भएको पनि थपे।
अन्य विज्ञहरुले भने मस्कले भने झैं सबै कुरा सहज नभएको र अन्तरिक्षयानले स्याटेलाइटसँग ठक्कर नखाओस् भन्नका लागि यी दुई बीचमा निकै ठाउँको अन्तर हुनुपर्ने बताएका छन्।
प्रकाशित: १५ पुष २०७८, बिहीबार