
काठमाडौं ।
चीनको राइड हेलिङ कम्पनी डीडी ग्लोबलको तेस्रो त्रैमासको आम्दानी १.७ प्रतिशतले घटेको छ।
कम्पनीले नियामकको कडाइका कारण स्थानीय व्यापार मन्दी भएपछि आम्दानीमा कटाैति भएको विवरण बुधबार सार्वजनिक गरेको हो।
यसै क्रममा डीडीको बोर्डमा सन् २०१८ देखि निर्देशकका रुपमा संलग्न अलिबाबा ग्रुप होल्डिङका सीईओ डेनियल झाङले राजीनामा गरेका कम्पनीले बताएको छ।
उनको ठाउँमा अलिबाबा ग्रुपका वरिष्ठ कानून निर्देशक यी झाङ आएका छन्।
चिनियाँ अधिकारीहरुले गत जुनमा न्यूयोर्क स्टक एक्सचेन्जमा सूचीकृत भएयता मोबाइल एप स्टोरबाट एप निकाल्न डीडीमाथि निकै दबाब दिँदै आइरहेका छन्।
यस्तै चीनको अन्तरिक्ष प्रशासन साइबरस्पेस एडमिनिस्ट्रेशन अफ चाइना सीएसीले पनि डीडीले उपभोक्ताको डाटा कसरी व्यवस्थापन गर्छ भन्नेबारे अध्ययन गरेको थियो।
नियामकको उक्त कडाइले सन् २०१२ मा अलिबाबाका पूर्व कर्मचारी विल वेई चेङले सफ्टब्याङ्क ग्रुपको सहयोगमा स्थापना गरेको र त्यसयता चीनमा वर्चस्व कायम गर्न सफल राइड हेलिङ कम्पनी डीडीलाई निकै असर पारेको देखिएको छ।
हाल उसले राइड हेलिङ सेवामा अटो निर्माता गीली तथा एसएआईसी मोटरसँग प्रतिस्पर्धा गर्नु परिरहेको छ।
डाटा सुरक्षाका बारेमा चिनियाँ नियामकको चिन्ता तथा दबाबका कारण डीडीले गत डिसेम्बरमा न्यूयोर्क स्टक एक्सचेन्जबाट आफूलाई निकालेर हङकङको शेयर बजारमा सूचीकृत गर्नुपरेको थियो।
प्रकाशित: १५ पुष २०७८, बिहीबार