दूरसञ्चार प्राधिकरणद्वारा स्वीकृत दरबन्दी भन्दा धेरै संख्यामा पदपूर्तिको आवेदन माग

  • Technology Khabar | १४ पुष २०७८, बुधबार
दूरसञ्चार प्राधिकरणद्वारा स्वीकृत दरबन्दी भन्दा धेरै संख्यामा पदपूर्तिको आवेदन माग

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले हालै माग गरेको प्राविधिक सहायक निर्देशक पदमा खुला तर्फ तोकिएभन्दा धेरै संख्यामा आवेदन माग गरिएको खुलासा भएको छ। प्राधिकरणको सांगठनिक संरचनामा प्राविधिक सहायक निर्देशकहरुको पद १८ जना भएपनि प्राधिकरणले सो भन्दा धेरै संख्यामा सो पदमा कर्मचारी माग गरिएको बताईएको छ।

सो पदमा गत मंसिर २८ गते प्राधिकरण पदपूर्ति समितिले स्वीकृत भएको सहायक निर्देशक पदसंख्या भन्दा धेरै संख्यामा खुला आवेदन माग गरिएको प्राधिकरण स्रोतले टेक्नोलोजीखबरलाई जानकारी दिएको छ।

‘स्वीकृत भएको पदसंख्या भन्दा धेरै संख्या हुने गरेर खुला पदपूर्ति गर्न खोजिएको छ। त्यसले भविश्यमा सो प्राविधिक सहायक निर्देशक पदमा उत्तिर्ण हुने र जागिर खान आउने उम्मेदवारलाई असर पर्नसक्छ,’ स्रोतले दाबी गर्यो।

सांगठनिक संरचनाअनुसार हाल प्राधिकरणमा १८ जना प्राविधिकतर्फका सहायक निर्देशक पदको दरबन्दी भएकोमा १६ जना प्राविधिक सहायक निर्देशकहरु कार्यरत रहेका छन्। जसअनुसार बाँकी २ पदका लागि खुला पदपूर्ति गर्नुपर्ने हुन्छ।

सोहिअनुसार प्राधिकरणले खुला पदपूर्ति आवेदन माग गर्नुपर्नेमा हाल ३ जनाको लागि सो पदमा आवेदन खुला गरेको मंसिर १९ गतेको सार्वजनिक सूचनामा देखिन्छ। प्राधिकरणले खुला तर्फ २ जना र अपांगतर्फ १ जनाको कोटासहित प्राविधिक सहायक निर्देशकको पदमा आवेदन माग गरेको छ। जसमा आन्तरिक प्रतियोगिता र खुला तथा समावेशी प्रतिस्पर्धा हुनेछ।

अर्कोतर्फ सो पदमा हाल कार्यरत कर्मचारीहरु प्राविधिक/इन्जिनियरिङ्ग  उप निर्देशक पदमा बढुवा हुनसक्ने आधारमा सो पद माग गरिएको बताईएको छ। किनकी प्राधिकरणले प्राविधिकतर्फ उप निर्देशक पदमा समेत आन्तरिक कार्यक्षमता मूल्यांकनको आधारमा बढुवा गर्नेगरी आवेदन माग गरेको छ। तर सो प्राविधिक उप निर्देशक पदमा हाल कार्यरत कर्मचारीहरु कसैको योग्यता नपुग्ने बताईएको छ।

उपनिर्देशक पदमा सहायक निर्देशकबाट कार्यक्षमताको आधारमा आन्तरिक बढुवा हुनसक्ने परिकल्पनाका साथ सहायक निर्देशक पदमा खुला पदपूर्ति गर्न खोजिएको हुनसक्ने प्राधिकरणको अर्को स्रोतले बताएको छ।

‘तर अहिलेको अवस्थामा प्राधिकरणमा कार्यरत कसैको पनि सो प्राविधिक उपनिर्देशक पदमा बढुवा हुनसक्ने अवस्था छैन् र अहिलेकै आधारमा खुलाबाट सहायक निर्देशक प्राविधिक आएको खण्डमा प्राधिकरणमा १ पद अतिरिक्त हुनसक्छ,’ दोस्रो स्रोतले टेक्नोलोजीखबरसँग भन्यो, ‘यसमा कानूनी र व्यवहारीक पक्षलाई ध्यान नदिएको जस्तो देखिन्छ।’

तर आन्तरिक बढुवामार्फत प्राविधिक उपनिर्देशक पदमा प्राविधिक सहायक निर्देशक मध्येबाट १ जना उक्लिएको अवस्थामा भने सो खुला माग गरिएको संख्या स्वीकृत दरबन्दीअनुसार नै मिल्ने देखिन्छ।

कर्मचारी विनियमावलीअनुसारको विनयम ४९ अनुसार आन्तरिक बढुवाका लागि एक तह मुनिको पदमा कम्तिमा ५ वर्ष कार्यरत भएको हुनुपर्ने प्रावधान राखिएको छ।

यसैबिच प्राधिकरणको कार्यक्षमता मूल्यांकनको मार्फत वरिष्ठ निर्देशक र अनुगमनतर्फ निर्देशक पदको पदपूर्तिको विषयमा परेको मुद्दामा उच्च अदालत पाटनले लोकसेवा आयोगलाई थप जानकारी दिन भन्दै आदेश दिएको छ।

मंगलबार उच्च अदालतले यसअघिको अल्पकालिन अन्तरिम आदेश जारी राख्दै “प्राधिकरणमा आयोगले बुझाएको भनिएको २०७८ असार ३१ गतेको पत्रमा उल्लेख भएको आयोगको निर्णयको प्रतिलि‍पि तथा उक्त पत्र प्राधिकरणमा कुन मितिमा बुझाईएको छ सो को प्रमाणित प्रतिलिपिसमेत उच्च सरकारी वकिल कार्यालय पाटन मार्फत उपलब्ध गराउनु भनि विपक्षी लोकसेवा केन्द्रिय कार्यालयलाई लेखी सो पत्रहरुसहित बहसमा उपस्थित हुन,” आदेश दिएको छ।

सो मुद्दामा एक पक्ष आयोगको असार ३१ गतेको सो पत्र नक्कली वा किर्ते भएको दाबीसहित अदालतमा उपस्थित भएपछि सो पत्रको प्रमाणिकता अदालतले खोजेको बताईएको छ। सो पत्र आयोगबाट जारी भएपनि हालसम्म प्राधिकरणमा दर्ता नै नभएको खुलासा भएपछि त्यस बारेमा अदालतले आयोगसँग नै प्रमाणसहितको जानकारी माग गरेको हो।

अदालतले आउँदो पुस २० गतेसम्म आयोगलाई सो पत्रको बारेमा जानकारीसहित बहसमा उपस्थित हुन आदेश दिएको हो।

प्रकाशित: १४ पुष २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार