
काठमाडौं ।
भारतीय कम्पनी टाटा मोटर्सले गत बुधबार एक नयाँ सहायक कम्पनी टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेड (टिपिईएमएल) ७ अर्ब भारु पूँजी सहित स्थापनाको घोषणा गरेको छ। सो नयाँ कम्पनीले टाटाको लागि विद्युतीय सवारीहरू बनाउनेछ।
कम्पनीले एकदमै नयाँ इलेक्ट्रिक मोबिलिटी सहायक कम्पनी सुरुवात गरेसँगै टाटा मोटर्सले आगामी दिनमा विद्युतीय सवारीको बजारमा निकै केन्द्रित हुने अनुमान गर्न सकिन्छ । टाटा नेक्सन इभी र टाटा टिगोर इभी पहिले नै कम्पनीको पोर्टफोलियोमा उपस्थित छन्, जून गाडी नेपाली बजारमा समेत उपलब्ध रहेका छन्।
टाटा मोटर्सले एक प्रेस विज्ञप्ति मार्फत टिपिईएमएलको स्थापना बारे जानकारी दिएको भारतीय मिडियाहरुले जनाएका छन्। टाटाले गरेको एक नियामक फाइलिङमा कर्पोरेट मामिला मन्त्रालयले डिसेम्बर २१, २०२१ मा यसको लागि निगमनको प्रमाणपत्र जारी गरेको बताएको छ।
टाटा मोटर्सले बीएसई फाइलिङमा भनेको छ, “टिपिईएमएलले विद्युतीय सवारी/इलेक्ट्रिक मोबिलिटी, सबै प्रकारका हाइब्रिड इलेक्ट्रिक गाडीहरू र यात्रु वा अन्य कर्मचारीहरू बोक्ने सवारीहरूको निर्माण, डिजाइन, विकासको लागि समावेश गरिएको छ।”
कम्पनीले यी श्रेणीमा सबै प्रकारका विद्युतीय सवारीसाधन थपेको छ । टाटा मोटर्सले टीपीईएमएलको प्रवद्र्धक टाटा मोटर्सको ईभी युनिटमा १०० प्रतिशत सेयर पुँजी हुने जनाएको छ। यो ७०० करोड भारुको प्रारम्भिक पूँजीबाट सुरु गरिएको हो।
टाटा मोटर्सले टिपिईएमएललाई १० रुपैयाँ प्रति शेयरको दरले ७० करोड इक्विटी शेयरको आधिकारिक पूँजीमा जम्मा गरी ७ अर्ब रुपैयाँ समावेश गरेको जानकारी दिएको छ।
टाटा मोटर्सले आगामी पाँच वर्षमा १० नयाँ इलेक्ट्रिक गाडीहरू लन्च गर्ने योजना बनाएको छ। टाटा मोटर्सले भारतमा ईभी पूर्वाधार सुधार गर्न पनि तीव्र गतिमा काम गरिरहेको रिपोर्टमा उल्लेख छ।
प्रकाशित: १० पुष २०७८, शनिबार