एन्ड्रोइडमा स्क्याम कल र मेसेज आएमा जेमिनीले प्रयोगकर्तालाई सचेत गराउने

  • Technology Khabar | २ कार्तिक २०८३, आईतवार
एन्ड्रोइडमा स्क्याम कल र मेसेज आएमा जेमिनीले प्रयोगकर्तालाई सचेत गराउने

काठमाडौं ।

गुगलले एन्ड्रोइड प्रयोगकर्ताका लागि ठगीपूर्ण सन्देश पहिचान गर्ने र गोपनीयता सुरक्षित राख्ने नयाँ सुविधा सार्वजनिक गरेको छ।

यसअन्तर्गत गुगल मेसेजेजमा प्रयोगकर्ताले चाहेमा सक्रिय गर्न सक्ने यस्तो सुविधा ल्याइएको छ, जसले जेमिनी एआई प्रयोग गरेर शंकास्पद सन्देशबारे चेतावनी दिनेछ।

यो सुविधा सक्रिय गरेपछि गुगलका उन्नत जेमिनी मोडेलले सन्देश पठाउने व्यक्तिको उद्देश्य विश्लेषण गर्नेछन्। सन्देश ठगी गर्ने व्यक्तिबाट आएको हुन सक्ने देखिएमा प्रयोगकर्तालाई सचेत गराइनेछ।

इन्य्याजेटका अनुसार गुगलले दिएको उदाहरणमा एक व्यक्तिले गलत नम्बरमा सन्देश पठाएको भन्दै कुकुरसँगै रहेको प्राप्तकर्ताको तस्बिर देखाउन खोज्छ। प्राप्तकर्ताले गलत नम्बर भएको बताएपछि पनि सन्देश पठाउने व्यक्तिले कुराकानी अघि बढाउँदै प्राप्तकर्ताको नाम सोध्छ। यस्तो व्यवहारलाई सम्भावित ठगीको संकेतका रूपमा पहिचान गर्न सकिने गुगलले जनाएको छ।

गुगलका अनुसार एन्ड्रोइडले सन्देशको विश्लेषण प्राइभेट एआई कम्प्युट प्रणालीमा गर्छ। यसले सन्देशलाई इन्क्रिप्ट गरी सुरक्षित वातावरणमा प्रशोधन गर्छ, जहाँ गुगलसहित अन्य कसैले पनि पहुँच पाउँदैन। त्यस्तै, जेमिनी नानोले गुगल मेसेजेजमा आएका लिंकहरू प्रयोगकर्ताले खोल्नुअघि नै उपकरणभित्र विश्लेषण गरेर सुरक्षित भए नभएको जाँच गर्नेछ।

यो सुविधा गुगल पिक्सेल १० वा त्यसपछिका मोडेल, सामसङ ग्यालेक्सी एस२६ सिरिज, ग्यालेक्सी जेड फ्लिप र ग्यालेक्सी जेड फोल्ड ८ लगायत छानिएका उपकरणमा उपलब्ध हुनेछ।

गुगलले सम्पर्क सूचीमा नभएका नम्बरबाट आएका लिंक खोल्नुअघि प्रयोगकर्तालाई थप जानकारी र समय दिने गरी ठगीसम्बन्धी चेतावनी प्रणालीलाई पनि परिमार्जन गरेको छ। नयाँ सुरक्षा सुविधा आगामी केही साताभित्र उपलब्ध गराउन थालिने कम्पनीले जनाएको छ।

यसअघि पिक्सेल उपकरणमा सन्देशको सूचनामै ठगी पहिचान गर्ने सुविधा ल्याएको गुगलले अब यसलाई अन्य उपकरणमा पनि विस्तार गर्दैछ। यसले सम्भावित ठगीबारे सन्देशको सूचनामै चेतावनी दिने भएकाले प्रयोगकर्ताले सन्देश खोल्नुअघि नै जोखिमबारे जानकारी पाउन सक्नेछन्।

यसका लागि गुगलले अनर, मोटोरोला, ओप्पो, वनप्लस, रियलमी, भिभो र साओमीजस्ता उपकरण निर्मातासँग सहकार्य गरेको छ। यी कम्पनीले यस वर्षको अन्त्यसम्ममा आफ्ना उपकरणमा उक्त सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ।

यसैबीच, एन्ड्रोइड १५ वा त्यसपछिका संस्करण चल्ने सबै उपकरणमा यसै महिनाको अन्त्यतिर स्क्रिन सेयर गर्दा गोपनीयता सुरक्षित राख्ने सुविधा उपलब्ध हुनेछ। क्रोम वा एन्ड्रोइड वेबभ्यु खुला रहेको स्क्रिन सेयर गर्दा यसले पासवर्ड, बैंकिङ विवरण र क्रेडिट कार्डको सुरक्षा नम्बरजस्ता संवेदनशील जानकारी स्वतः लुकाउनेछ।

डिसेम्बरको सुरुवातमा गुगलले पिक्सेल र अन्य छानिएका उपकरणमा कल फर्वार्डिङ सुरक्षा सुविधा पनि ल्याउनेछ। यसले एपहरूले पृष्ठभूमिमा प्रयोगकर्ताको जानकारीबिना कल फर्वार्डिङ सक्रिय गर्न खोजेमा रोक्नेछ। ठगी गर्ने व्यक्तिले प्रयोगकर्तालाई फोनमा कल फर्वार्डिङ सक्रिय गर्ने एमएमआई कोड अर्थात् अंकहरूको छोटो शृङ्खला टाइप गर्न लगाएमा एन्ड्रोइडले चेतावनी दिनेछ।

गुगलले बैंकको नक्कली प्रतिनिधि बनेर गरिने ठगी रोक्न ब्राजिलका बैंकहरूसँग पनि सहकार्य गरेको जनाएको छ। फोन गर्ने व्यक्ति वास्तवमै बैंकको प्रतिनिधि हो वा होइन भन्ने जाँच गर्न एन्ड्रोइडले आउने कलको प्रमाणीकरण गर्नेछ।

प्रमाणीकरण असफल भएमा प्रणालीले कल काट्ने र प्रयोगकर्तालाई सचेत गराउनेछ। गुगलका अनुसार जुन महिनामा यो सुविधा सुरु भएयता एन्ड्रोइडले ३० लाखभन्दा बढी नक्कली कल रोकिसकेको छ।

यो सुरक्षा सुविधा अमेरिकामा कहिले उपलब्ध हुन्छ भन्ने स्पष्ट भइसकेको छैन। तर भविष्यमा थप साझेदार बैंकसँग सहकार्य गर्ने गुगलले जनाएको छ।

प्रकाशित: २ कार्तिक २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...