काठमाडौं ।
एआई चिप डिजाइन स्टार्टअप रिकर्सिभ इन्टेलिजेन्सले कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबाट अझ प्रभावकारी चिप विकास गरी विश्वव्यापी कम्प्युटिङ क्षमताको बढ्दो माग सम्बोधन गर्ने लक्ष्य राखेको छ।
कम्पनीका संस्थापक अन्ना गोल्डी र अजालिया मिरहोसेनीले बुधबार टेकक्रन्च डिसरप्ट कार्यक्रममा एआईबाट चिप डिजाइन गर्ने प्रविधिबारे जानकारी दिएका छन्।
उनीहरूका अनुसार कम्पनीले चिप डिजाइन गर्न, प्रत्येक चरणबाट सिक्न र त्यसका आधारमा अर्को डिजाइन सुधार गर्न सक्ने एआई विकास गरिरहेको छ। यसबाट चिप डिजाइन प्रक्रिया स्वचालित र छिटो बनाउने लक्ष्य छ।
गोल्डीका अनुसार आगामी पाँच वर्षमा कम्प्युटिङ क्षमताको माग कम्तीमा १० हजार गुणाले बढ्न सक्ने अनुमान छ। उनका अनुसार यो अनुमान पनि वास्तविक मागभन्दा कम हुन सक्छ।
“हामी १० हजार गुणा बढी डाटा सेन्टर बनाउन चाहँदैनौँ। त्यसको सट्टा बढी प्रभावकारी चिप बनाएर, डाटा सेन्टरमा उपलब्ध ब्यान्डविथ र चिप उत्पादनमा प्रयोग हुने वेफर तथा कारखानाको क्षमता अझ प्रभावकारी रूपमा उपयोग गर्न सहयोग गर्न चाहन्छौँ,” उनले भनिन्।
उनका अनुसार डाटा सेन्टर अन्तरिक्षमै बनाए पनि कम्प्युटिङ क्षमताको माग पूरा गर्न अनन्त रूपमा पूर्वाधार विस्तार गर्नु व्यावहारिक समाधान नहुन सक्छ। त्यसैले उपलब्ध स्रोतबाट बढी काम लिन सक्ने चिप विकास आवश्यक छ।
एआईले आफ्नै लागि चिप डिजाइन गर्ने विचारले केहीलाई चिन्तित बनाउन सक्ने भए पनि गोल्डीका अनुसार यसले मानिसलाई नयाँ विचार, सिर्जनशीलता र कम्प्युटिङका नयाँ सम्भावना खोज्न बढी समय उपलब्ध गराउनेछ। चिप डिजाइन, सफ्टवेयर विकासलगायत क्षेत्रमा मानिसले विचार प्रस्तुत गर्ने र त्यसको कार्यान्वयन एआईले गर्ने प्रवृत्ति बढिरहेको उनको भनाइ छ।
संस्थापकहरूका अनुसार एआईले परम्परागत चिप डिजाइन विधिभन्दा फरक संरचना पत्ता लगाउन सक्छ, जसले चिपको कार्यक्षमता बढाउन सक्छ।
उनीहरूले यसअघि विकास गरेको ‘अल्फाचिप’ नामक एआई प्रणालीले चिपका कम्पोनेन्टलाई गोलाकार वा डोनटजस्तो आकारमा मिलाएको उदाहरण दिएका छन्। सुरुमा इन्जिनियरहरूलाई असामान्य लागेको उक्त संरचना पछि सफल साबित भएको उनीहरूको भनाइ छ।
परम्परागत विधिमा चिपलाई दर्जनौँ साना भागमा विभाजन गरेर डिजाइन गरिन्छ। रिकर्सिभ इन्टेलिजेन्सले भने सम्पूर्ण चिपलाई एकैपटक अनुकूल बनाउने प्रयास गरिरहेको छ। यसबाट लहरजस्ता जटिल संरचना तयार गर्न सकिने संस्थापकहरूको दाबी छ। यसबारे थप विवरण भविष्यमा सार्वजनिक गर्ने उनीहरूले बताएका छन्।
टेकक्रञ्चका अनुसार एआईबाट चिप डिजाइन गर्न सकिएमा अहिले आर्थिक वा प्राविधिक कारणले विकास गर्न कठिन रहेका विभिन्न प्रयोजनका चिपसमेत बनाउन सकिने गोल्डीको भनाइ छ।
“नयाँ चिप डिजाइन गर्न छ महिना, एक वर्ष वा दुई वर्ष लाग्छ भने कुन चिप बनाउने भन्नेमा निकै छनोट गर्नुपर्छ,” उनले भनिन्, “तर एक सातामै चिप डिजाइन गर्न सकियो भने अन्तरिक्ष, अग्मेन्टेड रियालिटी (एआर), भर्चुअल रियालिटी (भीआर) र जैविक कम्प्युटिङजस्ता विभिन्न क्षेत्रमा प्रयोग हुने विशेष प्रयोजनका चिप बनाउन सकिन्छ। यस्तो अवस्थामा लागतका हिसाबले पनि ती चिप बनाउनु उपयुक्त हुन सक्छ र ऊर्जा दक्षतासमेत बढाउन सकिन्छ।”
प्रकाशित: २ कार्तिक २०८३, आईतवार