यूट्युब म्युजिकमा एआईबाट बनेका गीत पहिचान गर्न नयाँ लेबल दिइने

  • Technology Khabar | १ कार्तिक २०८३, आईतवार
यूट्युब म्युजिकमा एआईबाट बनेका गीत पहिचान गर्न नयाँ लेबल दिइने

काठमाडौं ।

यूट्युब म्युजिकले कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर बनाइएका गीत पहिचान गर्न नयाँ लेबल थपेको छ। अब एआईबाट पूर्ण रूपमा तयार पारिएका वा गीतका मुख्य अंश, जस्तै स्वर सिर्जना गर्न एआई प्रयोग गरिएका ट्र्याकमा ‘एआई’ लेखिएको लेबल देखिनेछ।

इन्ग्याजेटका अनुसार गीतको नाममुनि राखिने यो लेबलले एआई प्रयोग भएको गीत छुट्याउन प्रयोगकर्तालाई सजिलो बनाउनेछ। यूट्युबका अनुसार गीत निर्माणमा एआईको महत्त्वपूर्ण भूमिका रहेको अवस्थामा यस्तो लेबल देखाइनेछ।

लेबलमा थिच्दा गीत बनाउन एआई कसरी प्रयोग गरिएको थियो भन्ने जानकारी देखिनेछ। यसले प्रयोगकर्तालाई गीतको निर्माण प्रक्रियाबारे बुझ्न र आफूले सुन्न चाहेको गीत छनोट गर्न सहयोग गर्नेछ।

यूट्युबले आफ्नो मुख्य भिडियो प्लेटफर्ममा पनि एआईबाट बनाइएका सामग्री पहिचान गर्न यस्तै लेबल प्रयोग गर्दै आएको छ। अब यूट्युब म्युजिकमा ल्याइएको यो सुविधा नियमित यूट्युब एपको भिडियो प्लेयरमा पनि उपलब्ध गराउने कम्पनीको योजना छ। यूट्युबमा धेरै सङ्ख्यामा म्युजिक भिडियो र संगीतसम्बन्धी सामग्री उपलब्ध छन्।

एआईबाट बनाइएका सामग्री पहिचान गर्ने प्रयास गर्ने यूट्युब एक्लो प्लेटफर्म भने होइन। स्पोटिफाइले नक्कली कलाकार पहिचान गर्न लेबल प्रयोग गर्न थालेको छ भने डिजरले एआईबाट सिर्जना गरिएका सामग्री छानेर हटाउन सकिने प्रणाली लागू गरिरहेको छ।

प्रकाशित: १ कार्तिक २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार