
काठमाडौं ।
नेपालको पहिलो र एकमात्र राइड सेयरिङ पठाओमा बीमा उपलब्ध छ। पठाओले एभरेष्ट इन्स्योरेन्ससँगको समन्वयमा राइडर र सेवाग्राही दुवैको राइडको समयको दुर्घटना बीमा सुरु गरेको हो।
राइडर (चालक) र सेवाग्राही दुवैको सुनिश्चित र सुरक्षित राइडको अनुभव दिने उद्देश्यले ‘राइड सेयरिङ बिमा’ सुरु गरेको पठाओले मोबाइल एप मार्फत राइड रिक्वेस्ट नगरी अफलाइन यात्रा गर्दा बीमा माग दाबी गर्न नमिल्ने पठाओ नेपाल प्रालिका प्रबन्ध निर्देशक असिममान सिंह बस्न्यातले बताए।
पठाओ एप मार्फत सहजीकरण गरि उपलब्ध सेवाहरु प्रयोग गर्ने सेवाग्राही तथा राइडर(चालक)हरुको १ लाखसम्मको दुर्घटना उपचार बीमा र सवारी दुर्घटनाका कारण मृत्यु वा अपांगता हुन पुगेको खण्डमा ५ लाखसम्म बिमा दाबी गर्न सकिन्छ। दुर्घटना भएर उपचारको क्रममा मृत्यु भएमा ६ लाख सम्मको बिमा दावी गर्न सकिने बस्न्यात बताउँछन्।
सेवाग्राहीले राइड सेयरिङ बिमा दाबी गर्न आफ्नै पठाओ अकाउन्टबाटै राइड बुक गरेको हुनुपर्ने, ब्यक्तिगत जानकारी सहि हुनुपर्ने र यात्रा सुरु गर्नुपुर्व राइडरको सवारी नम्बर र सवारीको मोडल पठाओ एपमा दर्ता भए बमोजिम छ कि छैन जाँच गरेर मात्र सवारी लिनुपर्ने छ।
सेवाग्राही र राइडरको पठाओ एपमा व्यक्तिगत बिबरण सहि हुनुपर्ने र दुर्घटना भएपश्चात सेवाग्राही तथा राइडर दुवैले १०० वा १०३ मा फोन गरेर प्रहरीलाई तत्काल खबर गर्नुपर्ने छ।
यसका साथै सोही दिन पठाओमा ०१-५९७००९९ मा फोन गरेर वा सामाजिक संजालमार्फत खबर गरी र दुर्घटना भएकै दिन स्वास्थ्य संस्थामा जाँच गरेको अवस्थामा मात्र बीमा माग दावी गर्न सकिने कम्पनीले जनाएको छ।
प्रकाशित: ९ पुष २०७८, शुक्रबार