
काठमाडौं ।
नेपाल टेलिकमको नयाँ प्रबन्ध निर्देशक पदका लागि मंगलबार कार्यालय समयसम्म तीन जनाको दरखास्त परेको छ। सरकारले पुस ७ गते अर्थात आजसम्म सो पदका लागि दरखास्त हाल्न सक्ने गरी सूचना जारी गरेकोमा हालसम्म केवल ३ जनाले मात्र ईच्छा देखाएका छन।
पछिल्लो समय सो पदका लागि माग गरेको दरखास्तका लागि परिवर्तन गरिएको कार्यबिधिको चर्को विरोध र मुद्दा मामिला भएसँगै हालसम्म ३ जनाको मात्र आवेदन आएको बताईएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतकाअनुसार ३ जना मध्ये दुई जना नेपाल टेलिकमकै कार्यरत कर्मचारीहरु रहेका छन्। नेपाल टेलिकमका कर्मचारी संगीता पहाडी र सुरज सिंह थापाले मंगलबार नै दरखास्त हालेको मन्त्रालय स्रोतले टेक्नोलोजीखबरलाई जानकारी दिएको छ।
“तीन जनाको दरखास्त आएको छ। जसमध्ये दुईवटा टेलिकमकै कर्मचारीहरुको छ भने बाँकी एक जना पूर्व निजामती कर्मचारीको आएको देखिएको छ,” मन्त्रालय स्रोतले दाबी गर्यो,” अझै १ दिन बाँकी हुँदा थप दरखास्त पनि आउन सक्नेछ।”
माग गरिएको सूचनाअनुसार बुधबार बेलुका कार्यालय समयभित्र ईच्छुक व्यक्तिहरुले दरखास्त आवेदन मन्त्रालयमा हाल्न सक्नेछन्। दरखास्त दिएकाहरुमध्ये एक जनालाई प्रबन्ध निर्देशक छनौट तथा सिफारिस समितिको सिफारिस मध्येबाट सरकारले टेलिकमको आगामी प्रबन्ध निर्देशक नियुक्ति गर्ने छ।
यसको लागि समितिले आवेदकहरुमध्येबाट सरकारलाई कम्तिमा ३ जना सिफारिस गर्ने प्रावधान छ।
हाल आवेदन दिएका मध्ये थापा टेलिकमका मानव संसाधन प्रमुख हुन् । उनी १० औं तहमा कार्यरत छन । उनले व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् भने टेलिकममा करिब ३ दशकको अनुभव हासिल गरेको बताईएको छ।
त्यस्तै अर्का आवेदक पहाडी टेलिकममै डेपुटी म्यानेजिङ डाइरेक्टर तथा चिफ कमर्शियल अफिसर (सीसीओ) को रुपमा कार्यरत छिन्। उनलाई आगामी प्रबन्ध निर्देशकको प्रबल दाबेदारको रुपमा हेरिएको छ।
उनले एशियन इन्स्टिच्यूट अफ टेक्नोलोजी थाइल्याण्डबाट दुई दशक अगाडी टेलिकम्युनिकेशन विषयमा स्नातकोत्तर गरेकी छिन। उनीसँग दूरसञ्चार क्षेत्रमा करिब ३ दशकको अनुभव छ।
वर्तमान प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीसँग समेत तत्कालिन समयमा प्रतिस्पर्धामा रहेकी पहाडीलाई भविश्यको प्रबन्ध निर्देशकको रुपमा हेरिएको टेलिकमका कर्मचारीहरुले बताउँदै आएका छन्।
यस बाहेक अर्का एक दरखास्त दिने व्यक्ति केयूकेएलका पूर्व कर्मचारी भएको बताईएको छ। केयूकेएलका तत्कालिन ढल महाशाखा प्रमुख तथा त्यहाँ सिईओका लागि समेत प्रतिस्पर्धा गरेका ई. अर्जुनबाबु ढकालले पनि दरखास्त दिएको बताईएको छ। उनी खानेपानी संस्थानका पूर्वमहाप्रबन्धक समेत भएको बताईएकोछ। (तर हामीले उनको बारेमा थप स्पष्ट जानकारी प्राप्त गर्न सकेनौं।)
यसैबिच नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सुविधा सम्बन्धी निर्देशिका २०७८ बनाई लागू गरेको भन्दै परेका मुद्दाहरुमा अदालतहरुद्वारा कारण देखाउ आदेश जारी भएको छ।
एउटा मुद्दामा नेपाल टेलिकमको नयाँ प्रबन्ध निर्देशक नियुक्ति प्रक्रियाको बारेमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ भने अर्को मुद्दामा उच्च अदालत पाटनले समेत कारण देखाउ आदेश जारी गरेको छ।
विशेषगरी सो निर्देशिकामा राखिएको उमेर हद र स्नातकोत्तरको न्यूनतम योग्यतालाई आधार मानेर मुद्दा दायर गरिएको छ।
सम्बन्धित समाचार-
नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति बारे उच्च अदालत पाटनद्वारा कारण देखाउ आदेश
प्रकाशित: ७ पुष २०७८, बुधबार