काठमाडौं ।
जापानमा पछिल्ला दिनमा विभिन्न कम्पनी तथा विश्वविद्यालयमा भएका साइबर आक्रमण र तथ्याङ्क चुहावटका घटनाले लाखौँ ग्राहक, सदस्य, विद्यार्थी तथा शिक्षक प्रभावित हुन सक्ने देखिएको छ। सोमबारदेखि सार्वजनिक भएका छुट्टाछुट्टै घटनामा व्यक्तिगत विवरण अनधिकृत रूपमा पहुँच गरिएको वा चुहिएको सम्बन्धित संस्थाहरूले बताएका छन्।
ओसाका मेट्रोपोलिटन युनिभर्सिटीले साइबर आक्रमणपछि कम्तीमा एक लाख ३० हजार विद्यार्थी तथा शिक्षकको विवरण चुहिएको हुन सक्ने जनाएको छ। गत शुक्रबार भएको आशङ्कित ‘रेन्समवेयर’ आक्रमणपछि विश्वविद्यालयको सूचना प्रणाली सञ्चालन गर्ने करिब पाँच सय सर्भर बन्द गर्नुपरेको थियो।
विश्वविद्यालयका विद्यार्थीका लागि रहेको क्याम्पस नेटवर्क तथा शिक्षकका लागि प्रयोग हुने पोर्टल सोमबारसम्म सञ्चालनमा आउन सकेका थिएनन्। आक्रमणका कारण केही व्याख्यानसमेत रद्द गरिएको विश्वविद्यालयले जनाएको छ।
जापानी छुट पसल सञ्चालक म्याक्स होल्डिङ्स लिमिटेडले आफ्नो अनलाइन किनमेल सेवा सञ्चालन गर्ने सर्भरमा अनधिकृत पहुँच भएपछि करिब १७ लाख ग्राहकको व्यक्तिगत विवरण प्रभावित भएको हुन सक्ने मङ्गलबार बताएको छ। कम्पनीले अनलाइन सेवा रोकेर आक्रमणको बाटो बन्द गरेको तथा बाह्य सुरक्षा विशेषज्ञ, नियामक निकाय र प्रहरीसँग अनुसन्धान अघि बढाइरहेको जनाएको छ।
इन्टरनेट सेवा प्रदायक जीएमओ रिसर्च एन्ड एआई इङ्कले पनि सोमबार आफ्नो सर्भरमा अनधिकृत पहुँच भएपछि नौ लाख ४८ हजार पाँच सय सदस्यको विवरण चोरी भएको जनाएको छ। कम्पनीका अनुसार केही सदस्यले प्राप्त गरेका पुरस्कारमध्ये करिब २९ लाख येन अर्थात् करिब १८ हजार अमेरिकी डलर बराबरको रकम अवैध रूपमा अमेजन उपहार कार्डका कोडमा साटिएको पाइएको छ।
याकिनिकु किङ बारबेक्यु रेस्टुरेन्ट चेन सञ्चालन गर्ने मोनोगातारी कर्पले पनि आफ्नो रेस्टुरेन्ट आरक्षण तथा पुरस्कारसम्बन्धी स्मार्टफोन एप सञ्चालन गर्ने प्रणालीमा अनधिकृत पहुँच भएपछि एक करोडभन्दा बढी ग्राहकसम्बन्धी विवरण चुहिएको जनाएको छ। चुहिएको विवरणमा इमेल ठेगाना र फोन नम्बर रहेको बताउँदै कम्पनीले ती विवरणको दुरुपयोग भएको पुष्टि नभएको स्पष्ट पारेको छ।
यसैबीच, दाइवा सेक्युरिटिज ग्रुप इङ्कले आफ्नो धितोपत्र कारोबारसम्बन्धी एकाइका करिब एक लाख १० हजार ग्राहकको विवरण तथा अन्य गैरव्यक्तिगत सूचना ठेकेदारद्वारा सञ्चालित सर्भरमा भएको अनधिकृत पहुँचका कारण प्रभावित भएको हुन सक्ने जनाएको छ। कम्पनीका अनुसार विवरण चुहिएको भए पनि त्यसलाई अनलाइन कारोबारलगायत कुनै पनि कारोबार गर्न प्रयोग गर्न नसकिने अवस्था रहेको छ।
सम्बन्धित संस्थाहरूले यी घटनालाई छुट्टाछुट्टै रूपमा सार्वजनिक गरेका हुन्। अहिलेसम्म सार्वजनिक भएको विवरणअनुसार ती घटनाबीच कुनै सम्बन्ध रहेको वा एउटै समूहले सबै साइबर आक्रमण गरेको सङ्केत भने फेला परेको छैन।–रासस
प्रकाशित: २० आश्विन २०८३, मंगलवार