
काठमाडौं ।
“मेरी क्रिसमस” लेखेर पठाइएको विश्वको पहिलो टेक्स्ट म्यासेज मंगलबार पेरिसको एक लिलामी घरमा ‘नन-फन्जिबल टोकन’ को रूपमा १ लाख ७ हजार युरो अर्थात करिब १ करोड ४६ लाख ७१ हजार रुपैयाँ (मंगलबारको परिवर्त्य मूल्य) मा बिक्री भएको छ।
३ डिसेम्बर १९९२ मा पठाइएको उक्त टेक्स्ट बेलायती टेलिकम कम्पनी भोडाफोनले लिलामीको लागि राखेको थियो।
यसअघि यो म्यासेज करिब २ करोड ७३ लाख रुपैयाँमा लिलामी हुनसक्ने रिपोर्टहरुमा बताईएको थियो।
भोडाफोन इन्जिनियर नील पापवर्थले आफ्नो कम्प्युटरबाट बेलायतका एक प्रबन्धकलाई एसएमएस पठाएका थिए, जसले आफ्नो २ केजी तौल भएको डेस्क फोन जस्तै तर ताररहित र ह्यान्डल भएकोअर्बिटेल टेलिफोनमा म्यासेज प्राप्त गरेका थिए। यो टेक्स्ट म्यासेज ईन्जिनियर पापवर्थद्वारा न्यूबरी, बर्कशायरमा रिचर्ड जार्विसलाई पठाइएको थियो।
पापवर्थ त्यस समयमा एक २२ वर्षीय परीक्षण इन्जिनियर थिए र उनी भोडाफोनको लागि छोटो सन्देश सेवा (एसएमएस) मा काम गर्दै थिए।
“उनीहरू वर्षको अन्त्यको इभेन्टहरुको बीचमा थिए त्यसैले पापवर्थले उसलाई ‘मेरी क्रिसमस’ सन्देश पठाए,” अगुट्स लिलामी घरका विकास प्रमुख म्याक्सिमिलियन अगुट्सले भने।
अमूर्त सामानको बिक्री फ्रान्समा कानूनी छैन र त्यसैले लिलामी घरले कोड र सञ्चार प्रोटोकल प्रदर्शन गर्दै डिजिटल फ्रेममा सो टेक्स्ट सन्देश प्याकेज गरेको बताएको छ।
खरिदकर्ताले एसएमएस पठाएको मूल सञ्चार प्रोटोकलको प्रतिकृति प्राप्त गर्नेछ र रकम संयुक्त राष्ट्र शरणार्थी एजेन्सी यूएनएचसीआरमा जानेछ।
प्रकाशित: ७ पुष २०७८, बुधबार