
काठमाडौं ।
छिमेकी देश भारतको मध्यप्रदेश राज्यको सतनामा अनलाईन पढ्दै गर्दा मोबाइल फोन विष्फोट हुँदा कक्षा ८ मा अध्ययनरत रामप्रकाश नामका विद्यार्थी गंभिर घाइते भएका छन्। सो घटनामा १५ वर्षीय रामप्रकाशको हात र अनुहारमा गहिरो चोट लागेको छ।
घटना मध्यप्रदेश राज्यको सतना जिल्लाको नागोड तहसीलको हो। विष्फोटमा घाइते भएका विद्यार्थीको अवस्था गम्भीर रहेकाले उनलाई जबलपुर मेडिकल कलेजमा रिफर गरिएको थियो।
भारतीय समाचार पत्र दैनिक भास्करको रिपोर्टकाअनुसार विष्फोटबाट विद्यार्थीको मुख र नाकमा चोट लागेको चिकित्सकहरुले बताएका छन्। हाल विद्यार्थीको अवस्था स्थिर रहेको बताइएको छ।
भारतीय समाचार एजेन्सी पीटीआईले पुलिसलाई उद्धृत गर्दै आफ्नो रिपोर्टमा घटना सतनाको चन्दकुइया गाउँको भएको बताएको छ। जहाँ अनलाइन कक्षाका क्रममा एक्कासी मोबाइल विस्फोट हुँदा रामप्रकाश घाइते भएका थिए। यो घटना बिहीबार दिउँसो भएको हो।
पुलिसकाअनुसार घटनाको समयमा रामप्रकाश घरमा एक्लै थिए र आफ्नो अनलाइन कक्षा लिइरहेका थिए। विद्यार्थीका परिवारका सदस्य घरमा थिएनन्। विस्फोटका क्रममा विस्फोटको आवाज यति ठूलो थियो कि छिमेकीहरू घटनास्थलमा पुगेर विद्यार्थीलाई तत्काल नागोडको सामुदायिक अस्पतालमा लगे।
विष्फोटमा घाइते भएका विद्यार्थीको अवस्था नाजुक भएकाले उनलाई नागोड सामुदायिक अस्पतालबाट सतना जिल्ला अस्पतालमा रिफर गरिएको थियो। विद्यार्थीलाई जिल्ला अस्पतालबाट हाल जबलपुर मेडिकल कलेजमा रिफर गरिएको बताईएको छ।
विस्फोटका कारण रामप्रकाशको घाँटी, नाक र मुखमा गहिरो चोट लागेको छ भने उनी बोल्न नसक्ने अवस्थामा रहेका छन्। विद्यार्थीको हाल जबलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।
मोबाइल विष्फोटबाट विद्यार्थीको मुख र नाकमा पूरै चोट लागेको चिकित्सकले बताएका छन्।
प्रकाशित: ४ पुष २०७८, आईतवार