आईफोन १३ को अभाव आगामी फेब्रुअरीसम्म लम्बिने संकेत

  • Technology Khabar | २३ कार्तिक २०७८, मंगलवार
आईफोन १३ को अभाव आगामी फेब्रुअरीसम्म लम्बिने संकेत

काठमाडौं ।

आईफोन १३ को अभाव आगामी फेब्रुअरीसम्म लम्बिने संकेत देखिएको छ।

वैश्विक सेमिकन्डक्टर चिप अभावका कारण अन्य प्रतिस्पर्धी कम्पनीहरुको उत्पादन र व्यापारमा निकै प्रभाव परिरहँदा पनि आईफोन उत्पादन र व्यापारमा फड्को मारिरहेको एप्पलको पछिल्लो आईफोन संस्करण भने बढी प्रभावित भएको छ।

डिजिटाइम्सको आपूर्ति श्रृङ्खला स्रोतका अनुसार नयाँ आईफोन १३ लाइनअपको मोज्दातले आउँदो फेब्रुअरीसम्म मागको सङ्ख्यालाई धान्न सक्ने अवस्था छैन।

स्रोतका अनुसार एप्पलसँग भएको ठूलो परिमाणको रकमका कारण उसले माैज्दात गरेर विश्वका केही भागमा चिप अभावलाई केही घटाउन सफल भएको थियो।

उदाहरणका लागि एप्पलको मुख्य चिप आपूर्तिकर्ता टीएसएमसीले आफ्ना थुप्रै प्रडक्शन लाइन एप्पलको चिप उत्पादनका लागि रिजर्भ गरेको थियो।

तर यति हुँदा हुँदै पनि केही प्रकारका चिपहरु अझै पनि माग अनुसार उत्पादन हुन नसकेकाले आईफोन १३ को तीव्र उत्पादनमा समस्या आइरहेको छ।

कम्पनीका सीईओ टिम कूकले हालै आफ्नो इन्भेस्टर्स नोटमा गत त्रैमासमा विभिन्न पार्टपुर्जाहरुको आपूर्तिमा ढिलाइ भएका कारण कम्पनीले ६ अर्ब डलर गुमाउनुपरेको उल्लेख गरेका थिए। यो आँकडा आगामी फेब्रुअरीसम्ममा अझ बढ्ने संकेत देखिएको छ।

प्रकाशित: २३ कार्तिक २०७८, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार