इन्टरनेट परियोजनाका लागि अमेजनले थप ४,५०० स्याटेलाइट राख्न अनुमति माग्दै

  • Technology Khabar | २२ कार्तिक २०७८, सोमबार
इन्टरनेट परियोजनाका लागि अमेजनले थप ४,५०० स्याटेलाइट राख्न अनुमति माग्दै

काठमाडौं ।

अमेजन डट कमले ४,५०० भन्दा बढी अतिरिक्त स्याटेलाइटहरू तैनाथ गर्न अमेरिकी सञ्चार नियामकहरूबाट अनुमति खोजिरहेको छ। कम्पनीले उच्च-गति सेवाको अभाव भएका विश्वभरका विभिन्न क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेट पुर्‍याउने कम्पनीको प्रयासको एक भागको रूपमा थप स्याटेलाइट (उपग्रह) पठाउन खोजेको हो।

अमेजनले यसअघि आफ्नो प्रोजेक्ट कुइपर कार्यक्रममार्फत ३,२३६ त्यस्ता स्याटेलाइटहरू निर्माण गर्न कम्तीमा १० अर्ब डलर खर्च गर्ने योजना बनाएको बताएको थियो।

गएको बिहीबार यसले अमेरिकी संघीय सञ्चार आयोग (एफसीसी) सँग परियोजनाको लागि कुल ७,७७४ स्याटेलाइटहरू तैनाथ गर्न स्वीकृति मागेको रोयटर्सले रिपोर्टमा उल्लेख गरेको छ। जसमा पुरानो अनुमति पाएको र नयाँ माग गरिएको ४५ सय स्याटेलाइटको संख्या समावेश छ।

यसअघि अमेजनले गएको सोमबार एफसीसीसँग २०२२ को अन्त्यसम्म दुई प्रोटोटाइप स्याटेलाइटहरू प्रक्षेपण र सञ्चालन गर्न स्वीकृतिको लागि सोधेको थियो।

“स्याटेलाइटहरूले घरपरिवार, अस्पताल, व्यवसाय, सरकारी एजेन्सीहरू, र विश्वभरका अन्य संस्थाहरूलाई सेवा दिनेछ, जहाँ भौगोलिक क्षेत्रहरूमा भरपर्दो ब्रोडब्यान्डको अभाव छ,” अमेजनले आफ्नो फाइलिङमा भन्यो।

अमेजनले यो परियोजनामार्फत इलन मस्कको कम्पनी स्पेसएक्सले तयार पारेको स्टारलिंक नेटवर्कसँग लो अर्थ अर्बिटमा स्याटेलाइट राख्ने योजनामा प्रतिस्पर्धा गरिरहेको छ। स्पेसएक्सले हालसम्म अन्तरिक्षमा १७ सय स्याटेलाइटहरू स्थापना गरिसकेको छ भने परीक्षणको रुपमा सेवा समेत शुरु गरेको छ।

तर अमेजनको प्रोजेक्ट कुइपरले हालसम्म कुनै स्याटेलाइट लन्च गर्न सकेको छैन्।

प्रकाशित: २२ कार्तिक २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...