
काठमाडौं ।
गुगलको अभिभावक कम्पनी अल्फाबेटले बेलायतमा आइसोमोर्फिक ल्याब्स नामक नयाँ औषधीको खोजी गर्ने कम्पनी सुरु गरेको छ।
गुगलले सन् २०१४ मा अधिग्रहण गरेको कम्पनी लन्डन आर्टिफिसियल इन्टेलिजेन्स प्रयोगशाला डिपमाइन्ड (DeepMind) द्वारा गरिएको अनुसन्धानमा आधारित भएर प्रयोगशाला निर्माण गर्नेछ।
बेलायतको कम्पनी रजिस्ट्री कम्पनी हाउसमा गरिएको फाइलिङ अनुसार यो फेब्रुअरीमा गठन गरिएको थियो। तर आधिकारिक रूपमा बिहीबार मात्र फर्मको घोषणा गरिएको थियो।
डिपमाइन्डका सीईओ र सह-संस्थापक डेमिस हसबिस आइसोमोर्फिक ल्याब्स (Isomorphic Labs) का पनि संस्थापक र सीईओ हुनेछन्। उनी डिपमाइन्डको सीईओ रहिरहने छन्।
एक ब्लग पोस्टमा, हसबिसले आइसोमोर्फिक ल्याब्सलाई “शुरुवाती चरणबाट सम्पूर्ण औषधी खोज प्रक्रियाको पुन: कल्पना गर्ने” मिशनको साथ एक व्यावसायिक उद्यमको रूपमा वर्णन गरेका छन्।
आइसोमोर्फिक ल्याब्सका प्रवक्ताकाअनुसार कम्पनी डिपमाइन्डबाट अलग रहेको र यसको आफ्नै समर्पित स्रोतहरू भएको बताएका छन्। यद्यपि कति कर्मचारी वा कति पूँजी यसको अधिकारमा छ भन्ने विषय बाहिर आएको छैन्।
आइसोमोर्फिक ल्याब्सले नयाँ औषधी र औषधीय सामग्रीहरू सिर्जना गर्न आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमत्ता) सफ्टवेयर प्रयोग गर्ने योजना बनाएको छ। एजेन्सीहरु
प्रकाशित: २१ कार्तिक २०७८, आईतवार