काठमाडौं ।
चालु आर्थिक वर्षको दोस्रो महिना २०८३ भदौ मसान्तसम्म नेपालमा १२ करोड बढीको १४ हजारभन्दा बढी थान डिजिटल क्यामरा आयात भएको छ।
भन्सार विभागले हालै सार्वजनिक गरेको यो अवधिसम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार नेपालमा डिजिटल क्यामरा आयात वृद्धि हुँदै गइरहेको पाइएको हो।
भदौ मसान्तसम्म समग्रमा १२ करोड ६४ लाख ७० हजार रुपैयाँ बराबरको १४ हजार ६२८ थान डिजिटल क्यामरा आयात भएको विवरणमा उल्लेख छ।
यस अवधिमा सरकारले डिजिटल क्यामराको आयातबाट २ करोड ३५ लाख ८५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। नेपालमा यो अवधिमा १६ मुलुकबाट डिजिटल क्यामरा आएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।
यसरी आयात भएका डिजिटल क्यामराहरुलाई हाइ स्पीड, रेडियशन हार्डेन्ड र अन्यमा वर्गीकरण गरिएको छ।
अन्य इलेक्ट्रोनिक्स सामानजस्तै नेपालमा सबैभन्दा धेरै डिजिटल क्यामरा चीनबाट आउने गरेको छ। यो अवधिमा पानि चीनबाट ९ करोड १ लाख २४ हजार रुपैयाँ बराबरको १४ हजार १४५ थान डिजिटल क्यामरा आयात भएको छ।
यसैगरी भारतबाट ३ लाख १७ हजार रुपैयाँ बराबरको १४३ थान र जापानबाट ६३ लाख ३५ हजार मूल्य बराबरको ५९ थान र अमेरिकाबाट ९५ लाख ६२ हजार बराबरको १२ थान डिजिटल क्यामरा आएको भन्सार विभागको तथ्याङ्कमा देखिन्छ।
यसबाहेक विश्वका अन्य मुलुकबाट पनि यो अवधिमा विभिन्न परिमाण र रकमका डिजिटल क्यामराहरु भित्रिएका छन्।
विवरण यस्तो छः
| क्रं स | देश | विवरण (थान) | रकम (हजारमा) |
| १ | चीन | १४१४५ | ९०१२४ |
| २ | भारत | १४३ | ३१७ |
| ३ | सं रा अमेरिका | १२ | ९५६२ |
| ४ | भेतनाम | २० | ९०४ |
| ५ | बेलायत | ३ | ३९३ |
| ६ | ताइवान | २९ | १९८४ |
| ७ | जापान | ५९ | ६३३५ |
| ८ | थाइल्याण्ड | १५९ | १५८० |
| ९ | मलेसिया | ४२ | १५१६५ |
| १० | सिङ्गापुर | ५ | ३४३ |
प्रकाशित: १९ आश्विन २०८३, सोमबार