
काठमाडौं ।
एप्पलले आईफोन १३ सिरिजका लागि चिप आपूर्ति गर्ने हेतुले आईप्याडको उत्पादनमा कटोती गरेको छ।
कम्पनीले पछिल्लो भर्सनको आईफोन डेलिभरी टाइम कम भएकाले त्यसका लागि चिप आपूर्ति गर्ने तर्फ केन्द्रित हुन लागेको बुझिएको छ।
निक्केइ एसियाका अनुसार यस तथ्यसँग निकट स्रोतहरुले आईप्याडको उत्पादन दुई महिनाअघिको योजनाको तुलनामा ५० प्रतिशतसम्मले घटाउने निर्णय भएको बताएका छन्।
यसरी आईप्याडको उत्पादनमा कटोति भएपछि कम्पनीलाई विश्वभर निकै माग रहेको आईफोन १३ का लागि चिप तथा अन्य पार्टपुर्जा आपूर्ति गर्न सहज भएको बुझिएको छ।
यसले आईफोन र आईप्याडका धेरै सामान एक आपसमा मिल्ने पनि संकेत गरेको छ।
वैश्विक चिप अभावका बेला पनि राम्रै उत्पादन र व्यवसाय गर्न सफल कम्पनीले आईफोन १३ मा नै बढी ध्यान केन्द्रित गरेको पाइएको छ।
तर आईप्याडको पनि माग भने कम छैन।
हालै आएको अर्को एउटा रिपोर्टमा आईफोन १३ सिरिजको डेलिभरी टाइम नजिकिँदै आएकोले पनि कम्पनीले आफ्नो आपूर्ति श्रृङ्खला अझ मजबुत बनाउन खोजेको उल्लेख गरिएको छ।
प्रकाशित: १६ कार्तिक २०७८, मंगलवार