Technology Khabar २४ बैशाख २०७३, शुक्रबार
काठमाडौं ।
काठमाडौं, २४ वैशाख । हुवावेले जी नाइन लाइट (Huawei G9 Lite) स्मार्टफोन तथा मिडिया प्याट एम टू (MediaPad M2) ट्याबलेट चीनमा आधिकारिकरुपमा घोषणा गरेको छ ।
हुवावेको यो स्मार्टफोन विश्व बजारमा भर्खरै आएको पी नाइन लाइटको (P9 Lite) चीनियाँ बजारका लागि ल्याईएको स्थानिय संस्करण हो । कम्पनीले विश्व बजारमा हुवावे पी नाइन लाइट औपचारिक घोषणा बिना नै बिक्री शुरु गरेको छ ।
हुवावेको जी नाइन लाइट (Huawei G9 Lite)
हुवावेको जी नाइन लाइट फोनमा ५.२ इन्चको फूल एचडी डिस्प्ले रहेको छ, जसको पिक्सेल रिजोल्यूशन १९२०x१०८० रहेको छ भने यसमा कम्पनीको आफ्नै चीपसेट प्रयोग गरिएको छ । यो स्मार्टफोनमा किरिन ६५० चीपसेट छ भने २.० गीगाहर्जको अक्टा-कोर सीपीयू राखिएको छ ।
हुवावेको यो स्मार्टफोनमा ३ जीबीको र्याम छ भने इन्टरनल स्टोरेज १६ जीबी रहेकोछ, जुन माइक्रो एसडी कार्डद्धारा बढाउन सकिन्छ ।
यो फोनमा भएको कन्फिगरेसन यसअघि सार्वजनिक भएको अनर ५ सी (Honor 5C) जस्तै रहेको छ ।
हुवावेले जी नाइन लाइटमा फिंगरप्रिन्ट रिडर राखेको छ । यो फिंगरप्रिन्ट रिडर फोनको पछाडिको भागमा छ जसको माथि १३ मेगापिक्सेलको रियर क्यामरा रहेको छ । त्यस्तै यसको फ्रन्ट फेसिंग क्यामरा ८ मेगापिक्सेलको रहेको छ ।
पी नाइन लाइटको चीनियाँ संस्करणमा ३,००० एमएएचको ब्याट्री राखिएको छ, जुन फेर्न सकिँदैन अर्थात नन रिमूभेवल रहेको छ । यो फोनमा फास्ट चार्ज छ की छैन कुनै जानकारी छैन तर संभवत यसको विशेषताहरुमा यो राखिएको छैन् ।
हुवावेको जी नाइन लाइट स्मार्टफोन एन्ड्रोयडको मार्शमाल्लो ६.० भर्सनमा आधारित रहेको छ जसमा कनेक्भिटीका लागि फोरजी एलटीई, वाईफाई, ब्लूटूथ, जीपीएस तथा माइक्रो यूएसबी २.० पोर्ट रहेकोछ ।
हुवावे मिडिया प्याड एमटू ७.० (Huawei MediaPad M2 7.0)
हुवावेले चीनियाँ बजारमा अर्को डिभाइस मिडिया प्याड एम टू (MediaPad M2) पनि सार्वजनिक गरेको छ, जसको डिस्प्ले साइज ७ इन्चको रहेको छ । मिडिया प्याड एम टूमा पनि फिंगरप्रिन्ट सेन्सर राखिएको छ । यस्तो फिचर भएको ट्याबलेट हुवावेले पहिलो पटक ल्याएको हो । सात इन्चको डिस्प्ले भएको यो मिडिया प्याडको डिस्प्ले रिजोल्यूशन १०८० पिक्सेल रहेको छ ।
यो ट्याबमा स्न्यापड्रयागन ६१५ चीपसेट प्रयोग गरिएको छ भने ३ जीबी र्याम रहेको छ । यो ट्याब विभिन्न स्टोरेज साइजमा बजारमा उपलब्ध हुनेछ । त्यस्तै यसमा एलईडी फ्ल्याशसहितको १३ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिक्सेलको सेल्फी क्यामरा छ । हुवावेको यो ट्याबमा ४,३६० एमएएचको ब्याट्री ब्याकअप रहेको छ ।
हुवावे जी नाइन लाइट स्मार्टफोन चीनमा १६९९ यूआन अर्थात करिब २६० अमेरिकी डलरमा ह्वाइट, गोल्ड एण्ड ब्ल्याक कलर अप्शनमा उपलब्ध हुने छ । त्यस्तै मिडिया प्याड एमटू ७.० को १६ जीबी भेरिएन्टको मूल्य १५९९ यूआन अर्थात २४५ अमेरिकी डलर तथा ३२ जीबी स्टोरेज भेरिएन्टको मूल्य १७९९ यूआन अर्थात २७६ डलर तोकिएको छ ।
यी दुबै डिभाइसहरु मे १३ तारिखदेखि बिक्री शुरु हुनेछ भने अहिले नै प्रि-अर्डर खुला गरिएको छ ।
प्रकाशित: २४ बैशाख २०७३, शुक्रबार