जाँचपास बिना डिजिटल प्लेटफर्महरुमा चलचित्र तथा विज्ञापन प्रशारण गरे कारबाही

  • Technology Khabar | २४ आश्विन २०७८, आईतवार
जाँचपास बिना डिजिटल प्लेटफर्महरुमा चलचित्र तथा विज्ञापन प्रशारण गरे कारबाही
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय। फाइल तस्बिर

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनुमति बिना डिजिटल प्लेटफर्म तथा अनलाइनहरुमा चलचित्र तथा विज्ञापनहरु प्रशारण भएको भन्दै सबैलाई सचेत गरेको छ ।

मन्त्रालयले चलचित्र तथा विज्ञापनहरु प्रशारण पूर्व जाँच पास गर्नुपर्ने र अनुमति लिनुपर्नेमा त्यसो नगरी विभिन्न प्रशारण संस्था, विद्युतीय माध्यम वा अन्य माध्यमबाट प्रशारण भईरहेको बारेमा मन्त्रालयमा उजुरी तथा गुनासो आएको भन्दै त्यस प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले सार्वजनिक सूचना प्रकाशित गर्दै चलचित्र (निर्माण, प्रदर्शन तथा बितरण) ऐन २०२६अनुसार जाँचपास नगरी चलचित्र तथा विज्ञापनहरु प्रशारण गरेको खण्डमा प्रमुख जिल्ला अधिकारीले उपकरण जफतसहित पाँच हजार रुपैयाँ जरिवाना गर्नसक्ने कानूनी प्राबधानको बारेमा स्मरण समेत गराएको छ ।

यसैगरी कानूनको पालना गर्न र कानून विपरित प्रकाशन तथा प्रशारण गरेको पाईएमा कारबाही गरिने चेतावनी समेत दिएको छ ।

पछिल्लो दिनहरुमा विभिन्न केबल टिभीहरु तथा अनलाइन विशेषगरी युट्युबमार्फत चलचित्र तथा विज्ञापनहरु प्रशारण गर्ने गरेको पाईन्छ।

विशेषगरि सर्ट मूभीको नाममा प्रशारण हुने त्यस्ता भिडियोहरुको बारेमा अधिक गुनासो आउने गरेको बताईएको छ।

प्रकाशित: २४ आश्विन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार