
काठमाडौं ।
चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले आफ्नो पोको सिरिजको एम४ प्रो फाइभजी स्मार्टफोन आगामी नोभेम्बरको शुरुवातमा सार्वजनिक गर्ने भएको छ।
यसै महिनाको शुरुवातमा पोकोले गत मे मा बजारमा ल्याएको एम३ प्रो फाइभजीको अपग्रेडेड भर्सन एम४ प्रो फाइभजी ल्याउने समाचार सार्वजनिक भएको थियो।
त्यसपछि उक्त डिभाइसको नामबाहेक अन्य कुनै जानकारी बाहिरिन सकेको थिएन। तर विश्वका थुप्रै सर्टिफिकेशन एजेन्सीहरुले यो डिभाइसलाई आवश्यक अनुमोदन भने दिँदै गइरहेका थिए।
यसै हिसाबले पनि यसको आधिकारिक घोषणा मिति नजिकै भएको आकलन गरिएको थियो। हालै बाहरिएको चर्चाका अनुसार पोको एम४ प्रो फाइभजी अक्टोबरको अन्त्य वा नोभेम्बरको शुरुवातमा सार्वजनिक हुन सक्ने प्रबल सम्भावना रहेको छ।
यो फोन चीन र विश्व बजारमा मात्र नभइ स्मार्टफोनको अर्को ठूलो बजार भारतमा पनि उपलब्ध हुने बुझिएको छ। यसमा मिडियाटेकको डाइमेन्सिटी चिपसेट, ३३ वाट फास्ट चार्जिङ सहितको ब्याट्री रहने आकलन गरिएको छ। पोको एम३ प्रो फाइभजीमा भने १८ वाटको मात्रै फास्ट चार्जिङ सुविधा रहेको थियो।
हालसम्म आधिकारिक विवरण बाहिर नआए पनि यो सार्वजनिक हुने मिति सही भएको खण्डमा केही दिनपछि पोकोले आफ्ना वेबसाइटहरुमा विवरणहरु सार्वजनिक गर्ने अपेक्षा गर्न सकिन्छ।
प्रकाशित: २२ आश्विन २०७८, शुक्रबार