
काठमाडौं ।
अमेरिकी राज्यहरुका महान्यायाधिवक्ताको द्वीपक्षीय समूहले विधायकहरुलाई चिठी पठाउँदै ठूला प्रविधि कम्पनीहरुलक्षित् प्रतिस्पर्धाविरोधी विधेयकहरु छिट्टै पारित गर्न आग्रह गरेको छ।
सिनेट तथा हाउस अफ रिप्रिजेन्टेटिभका नेताहरुलाई सम्बोधन गरिएको उक्त पत्रमा गत जुनमा संसदको न्याय समितिले पारित गरेका ६ ओटा विधेयकको समर्थन गरिएको थियो।
तीमध्ये ४ ओटा विधेयकमा प्रत्यक्ष रुपमा ठूला प्रविधि कम्पनीहरुलाई सम्बोधन गरिएको तथा अन्य दुई ओटा भने यस्ता कानून कार्यान्वयन गराउने निकायलाई सशक्त बनाउने विषय रहेको बुझिएको छ।
यसले कानूनको रुप लिएमा राज्यका महान्यायाधिवक्ताहरुले ल्याएका प्रतिस्पर्धाविरोधी मुद्दाहरु उनीहरुले छानेकै अदालतमा सुनुवाइ गराउन सकिनेछ।
यसबारेमा संसदको पूर्ण सदस्यले मतदान गरेका छैनन्।
उक्त पत्रमा कोलोराडो राज्यका महान्यायाधिवक्ता फिल वेजर तथा डेमोक्रेटिक नेताहरु न्यूयोर्कका लेटिसिया जेम्स, क्यालिफोर्नियाका रब बोन्टा तथा कनेक्टिकटका विलियम टङले हस्ताक्षर गरेका थिए।
यसबाहेक रिपब्लिकन नेताहरु नेब्रास्काका डग्लस पिटर्सन, लुजियानाका जेफ ल्यान्ड्री तथा उताह (यूत:) का सीन रेयेसको पनि हस्ताक्षर रहेको थियो।
राज्यका महान्यायाधिवक्ताहरुले गुगल विरुद्ध तीनओटा तथा फेसबुकका विरुद्ध पनि मुद्दा हालेकामा गुगलको अझै विचाराधीनमा रहेको छ भने फेसबुकविरुद्धको मुद्दा रद्द भइसकेको रोयटर्सले जनाएको छ।
प्रकाशित: ६ आश्विन २०७८, बुधबार