
काठमाडौं ।
नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी तथा क्रिप्टोकरेन्सी कारोबारमा लगाएको प्रतिबन्ध कायम राख्ने तर आफ्नै डिजिटल करेन्सीको बारे अध्ययन गर्ने नीति लिएको छ।
केन्द्रिय बैंकले आज शुक्रबार मौद्रिक नीति जारी गर्दै केन्द्रिय बैंक डिजिटल करेन्सी (Central Bank Digital Currency)को बारेमा सम्भाव्यता अध्ययन गर्ने बताएको छ।
तर राष्ट्र बैंकले क्रिप्टोकरेन्सी माथिको प्रतिबन्ध भने कायमै राख्ने र तत्काल कारोबार खुला नगर्ने स्पष्ट पारेको हो।
मौद्रिक नीति जारी गरेपछि आयोजित भर्चुअल पत्रकार सम्मेलनमा राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्रले अहिले नै डिजिटल करेन्सी ल्याउने नभई अध्ययन मात्र गरिने जानकारी दिए।
‘हामीले अहिले नै डिजिटल करेन्सी ल्याउने भनेको होईन्। त्यसको बारेमा अध्ययन गरेपछि सोहि अध्ययनको आधारमा मात्र अगाडि बढ्ने हो,’ डेपुटी गर्भनर मिश्रले भने।
त्यसैगरि राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकालले हाल क्रिप्टोकरेन्सी माथिको प्रतिबन्ध खोल्ने कुनै योजना नभएको बताए।
‘हामीले अहिले क्रिप्टोकरेन्सी कारोबारलाई खुला गर्ने भनेको होईन र यो ब्लकचेनमा आधारित करेन्सी ल्याउन लागेको पनि होईन्,’ प्रवक्ता ढकालले भने ।
यसैगरि प्रवक्ता ढकालले निजी ब्रोडब्याण्ड सेवा प्रदायकहरुलाई सहयोग गर्न नयाँ नीति ल्याएको स्पष्ट पारे।
उनकाअनुसार ब्रोडब्याण्ड प्रवद्र्धन गरी सर्वसाधारणमा इन्टरनेट पहुँच पुर्याउने गरी दुर्गम स्थानहरुमा सेवा पुर्याउने इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई विशेष पुनर्कर्जा उपलब्ध गराउने नीतिअन्तरगत निजी क्षेत्रले आफ्नो लगानीमा दूर्गम क्षेत्रमा सेवा बिस्तार गर्न चाहेको अवस्थामा त्यसो सुबिधा दिईनेछ।
‘हामीले डिजिटल सेवाको प्रबर्द्धन गरिरहेको बेलामा कुनै कम्पनीले दूर्गममा लगानी गरेर ब्रोडब्याण्ड सेवा लग्छु भनेमा त्यस्ता कम्पनीलाई सुबिधा दिने भनिएको हो । यसमा सरकारी कम्पनीले सुबिधा पाउँदैन्,’ उनले भने ।
हेर्नुस् समाचार-
राष्ट्र बैंकले आफ्नै डिजिटल करेन्सी ल्याउने तयारी, चालु आवमा सम्भाव्यता अध्ययन गरिने
प्रकाशित: २९ श्रावण २०७८, शुक्रबार