भिभोद्वारा सुपरजूम क्यामरायुक्त स्मार्टफोनको पेटेन्ट दर्ता

  • Technology Khabar | २० श्रावण २०७८, बुधबार
भिभोद्वारा सुपरजूम क्यामरायुक्त स्मार्टफोनको पेटेन्ट दर्ता

काठमाडौं ।

चिनियाँ स्मार्टफोन ब्रान्ड भिभोले हालै एउटा नयाँ पेटेन्ट दर्ता गराएको छ। यो पेटेन्ट सुपरजूम लेन्सयुक्त पपअप क्यामरायुक्त स्मार्टफोनको रहेको बुझिएको छ।

लेट्सगोडिजिटलका अनुसार भिभोले यो पेटेन्ट वर्ल्ड इन्टेलेक्चुअल प्रोपर्टी अफिस डब्लूआईपीओमा ‘क्यामरा मोड्युल, इलेक्ट्रोनिक डिभाइस तथा क्यामरा मोड्युल कन्ट्रोल मेथड’ शीर्षकमा दर्ता गराएको हो।

पेटेन्टमा गरिएको वर्णन अनुसार हालका स्मार्टफोनले लो मल्टिपल जूममात्र सपोर्ट गर्ने र अहिले भिभोले ल्याउन लागेको प्रविधिमा मोबाइलमा हाइ मल्टिपल जूम फिचर रहनेछ। सामान्य भाषामा भन्दा भिभोले दर्ता गराएको क्यामरा प्रविधिबाट धेरै परसम्म जूम गर्न सकिन्छ।

हालसम्म कम्पनीले थुप्रै फोनमा पछाडि जूम लेन्स दिइसकेको छ। अब आउने क्यामरामा भने टेक्निजो कन्सेप्टद्वारा डिजाइन गरिएको सुपरजूम फिचर रहनेछ।

यो प्रविधिमा थुप्रै लेन्सलाई एउटै मोड्युलमा राखिएको छ जसलाई जूम गर्दा बिस्तारै बाहिरतिर धकेल्न सकिनेछ भने फेरि पछि त्यसको बेसमै लगेर राख्न सकिनेछ।

जूम गर्दा यो लेन्स पिरामिड आकारमा बाहिरतिर आउँछ। पेटेन्टको डिजाइन हेर्दा जम्मा ४ ओटा लेन्स रहेको र अन्य लेन्सहरु पनि आवश्यकता अनुसार पप अप हुने देखिन्छ। पेटेन्टमा अप्टिकल जूमको परिमाण बताइएको छैन तर हालका जूम लेन्सयुक्त स्मार्टफोनभन्दा निकै शक्तिशाली हुने अपेक्षा गर्न सकिन्छ।

प्रकाशित: २० श्रावण २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार