भारतको ढुवानी डिजिटाइजेशन स्टर्टअप ब्ल्याकबकको मूल्यांकन १ अर्ब डलर

  • Technology Khabar | ७ श्रावण २०७८, बिहीबार
भारतको ढुवानी डिजिटाइजेशन स्टर्टअप ब्ल्याकबकको मूल्यांकन १ अर्ब डलर
ब्ल्याकबक

काठमाडौं ।

भारतको ढुवानी सिस्टम कम्पनी ब्ल्याकबकको मूल्यांकन १ अर्ब डलर गरिएको छ।

भारतभरी फ्रेट तथा लजिस्टिक्स (सामान तथा बन्दोबस्ती ढुवानी) लाई डिजिटाइज गर्नका लागि शुरु गरिएको स्टार्टअपमा आर्थिक समस्या देखिएपछि फन्डरेजिङमार्फत कोष बढाउने क्रममा यसको मूल्यांकन गरिएको हो।

ट्राइब क्यापिटल, आईएफसी इमर्जिङ एसिया फन्ड तथा भीईएफको नेतृत्वमा ६७ करोड डलरको सिरिज ई फाइनान्सिङ राउन्डमा यसको मूल्यांकन १ अर्ब डलर गरिएको थियो। यो आँकडा सन् २०१९ मा गरिएको मूल्यांकन रकम ८५ करोड डलरभन्दा धेरै गुणा बढी हो।

कम्पनीका सीईओ राजेश यबाजीले टेकक्रन्चलाई बताएअनुसार ब्ल्याकबक यो वर्ष यति धेरै मूल्यांकन हुने भारतको १६ औं स्टार्टअप कम्पनी बनेको छ।

यसले विभिन्न व्यवसायलाई ट्रकधनीहरु तथा फ्रेट अपरेटर ढुवानी सेवा प्रदायकहरुसँग जोड्ने काम गर्छ। यो स्टार्टअपले भारतका धेरै नपढेका तथा ट्रक ड्राइभरहरुका लागि गुगल म्याप र नेभिगेशनका माध्यमबाट सम्बन्धित ठाउँसम्म पुग्न सजिलो एपको विकास गरेको छ।

हाल भारतका करिब ७ लाख ट्रक सेवा प्रदायक तथा १२ लाख ट्रकहरु यो प्लेटफर्ममा जोडिएका छन् भने यसबाट प्रतिमहिना लगभग १ करोड ५० लाख कारोबार हुने आँकडा छ।

‘भारतका ट्रक सेवा प्रदायकहरु २०१९ सम्म डिजिटल भएका थिएनन् भने त्यो बेलादेखि अहिले यसमार्फत् २० प्रतिशतभन्दा बढी आपूर्ति हुने गरेको छ’, यबाजीले भने।

सन् २०१५ मा ब्ल्याकबक शुरु हुँदा ४० प्रतिशत ड्राइभरहरुसँग मात्र स्मार्टफोन हुने गरेको र यो सेवा ७ प्रतिशतसम्म मात्र पुगेको थियो। २०१९ सम्ममा शत प्रतिशत ट्रक धनी तथा ७० प्रतिशत ड्राइभरसँग स्मार्टफोन उपलब्ध भयो। सस्तो मोबाइल सेट र जियोजस्तो सस्तो इन्टरनेट प्रदायकका कारण यो सम्भव भएको कम्पनीको बुझाइ छ।

भारत सरकारले केही समययता सबैलाई डिजिटल सेवातिर धकेलिरहेको र धेरै राज्यहरुमा जीपीएस अनिवार्य गरिएकाले यसको सेवा विस्तारमा सहयोग पुगेको बुझिएको छ।

प्रकाशित: ७ श्रावण २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...