
काठमाडौं ।
कालीकोटको तिलागुफा नगरपालिकामा नेपाल टेलिकमको मोबाइलको टावर बनेपछि सञ्चार सम्पर्कमा सहज भएको छ। लामो समय फोनको प्रतीक्षामा रहेका जनता टावर बनेर सञ्चार सम्पर्क भएपछि निकै खुसी भएका छन् ।
तिलागुफा नगरपालिकाका प्राविधिक वीरमञ्जन शाहीले टावर निर्माण भएपछि नगरका सबै ठाउँमा सम्पर्क गर्न सहज भएको बताए । उनले बत्तीको अभावका साथै वर्षात्को समय भएकाले फोरजीमा भने केही समस्या भएको जानकारी दिए । फोरजी चलाउन आवश्यक सोलारको व्यवस्थापन गर्न नगरपालिकाले नेपाल टेलिकमलाई पत्राचार गरेको उनको भनाइ छ।
सत्यदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक धर्मराज शर्माले टावर बनेसँगै घरमा फोन गर्न सहज भएको बताए ।
तिलागुफा नगरपालिका प्रमुख रतनबहादर शाहीले नगरपालिका–६ को हरिचौरमा टावर सुचारु भएको जानकारी गरे ।
टावर यसभन्दा पहिला पनि सोही ठाउँमा निर्माण भएको थियो । वर्षात्को समयमा सोलारले काम नगर्ने र त्यो पनि चोरी भएकाले २०७५ सालयता तिलागुफा नगरपालिकामा मोबाइल सम्पर्कविहीन थियो । फोन गर्नका लागि सर्वसाधारण शनिबार सदरमुकाम मान्म आउने गरेका थिए ।
हरिचौरमा राम्रो ब्याकअपसहितको टावर तयार भएर मोबाइल सेवा सुरु भएपछि फोन गर्न शनिबार कुर्नुपर्ने अवस्थाको अन्त्य भएको छ। गोरखापत्रबाट
प्रकाशित: २६ असार २०७८, शनिबार