बागमती प्रदेशले नवप्रवर्तनलाई प्रोत्साहन गर्न प्रदेश विज्ञान प्रविधि कोष स्थापना गर्ने

  • Technology Khabar | १ असार २०७८, मंगलवार
बागमती प्रदेशले नवप्रवर्तनलाई प्रोत्साहन गर्न प्रदेश विज्ञान प्रविधि कोष स्थापना गर्ने

काठमाडौं ।

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत बागमती प्रदेश डिजिटल प्रदेश सोचसहितको प्रदेशको योजना अनुगमन तथा मूल्यांकन, यातायात व्यवस्थापन, सवारी चालक अनुमतिपत्र, उद्योग बाणिज्य, व्यवसाय दर्ता लगायतका सेवाहरुलाई विद्युतीय माध्यमबाट प्रवाह गर्न बजेट विनियोजन गरेको छ ।

त्यसैगरि प्रदेश भित्रको सूचना तथा संचारलाई प्रभावकारी, व्यवस्थित र अनुशासित बनाउन सूचना बैंक सञ्चालन तथा व्यवस्थापनको लागि आवश्यक बजेट बिनियोजन गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७८।७९ को बजेटमा सूचना बैंक तथा स्वायत्त आम संचार गृह स्थापना तथा सञ्चालन गर्न १० करोड रुपैयाँ बजेट बिनियोजन गरेको घोषणा गरेका छन् ।

उनले सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोगलाई बढावा दिने बताए ।

यसका साथै बजेट रकमान्तर र कार्यक्रम संशोधनको लागि विद्युतीय प्रणालीबाट प्रस्ताव गर्ने र स्वीकृत गर्ने व्यवस्था गरिने घोषणा गरे ।

बागमती प्रदशले राजस्व संकलनलाई यथार्थपरक बनाउन एकीकृत राजस्व सूचना प्रणालीको विकास गर्ने भएको छ भने यातायात व्यवस्थापन कार्यालयमा भएको सूचना प्रणालीलाई सुधार गर्ने भएको छ ।

त्यसैगरि विद्यालयहरुमा प्रविधिमैत्री शिक्षा प्रणालीको बिस्तार, सूचना तथा प्रविधि प्रयोगशाला स्थापना, विज्ञान तथा विषयगत प्रयोगशाला स्थापना लगायतका कार्यका लागि ३५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारले आगामी आवमा प्रदेश शैक्षिक व्यवस्थापन सूचना प्रणाली स्थापना गरी कार्यान्वयनमा ल्याउन समेत बजेट व्यवस्था गरेको छ ।

आगामी आवमा प्रदेशले नवीन ज्ञान तथा प्रविधिको अनुसन्धान, विकास र नवप्रवर्तनमा युवा वैज्ञानिकहरुलाई प्रोत्साहन गर्न प्रदेश विज्ञान प्रविधि कोष स्थापना गर्ने भएको छ । यसको साथै युवा वैज्ञानिक प्रोत्साहन कोषमा रहेको रकम समेत यसै कोषमा सार्ने व्यवस्था गरिएको छ ।

Budget-Speech-2078-03-01-1

प्रकाशित: १ असार २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...