
काठमाडौं ।
हीरो मोटोकर्प र गोगोरो इंकले विद्युतीय गतिशीलता (मोबिलिटी) को दिगो परिवर्तनलाई गति दिनका लागि भारतमा एक रणनीतिक साझेदारीको घोषणा गरेका छन् ।
यो साझेदारीले मोटरसाइकल र स्कुटरको विश्वको सबैभन्दा ठूलो निर्माता हीरो र सहरी ब्याट्री स्वापिङ र स्मार्ट मोबिलिटी नवप्रर्वतनको क्षेत्रमा विश्वव्यापी अग्रणी कम्पनी गोगोरोलाई एक ठाउँमा ल्याएको छ ।
भारतमा गोगोरोका उद्योगको अग्रणी ब्याट्री स्वापिङ प्लेटफार्म ल्याउन दुवै कम्पनीहरूले संयुक्त लगानीमा ब्याट्री स्वापिङ उद्यम स्थापना गर्नेछन् भने हीरोको ब्रान्डमा गोगोरो नेटवर्कद्वारा सञ्चालित हुने विद्युतय सवारी साधन विकासमा सहकार्य हुने बताईएको छ ।
नयाँ साझेदारीको बारेमा टिप्पणी गर्दै हीरो मोटोकर्पका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डा. पवन मुन्जालले गोगोरोसँगको रणनीतिक साझेदारी गतिशीतला (मोबिलिटी) को भविष्य बन्ने लक्ष्य अनुरूप रहेको बताए ।
“यो साझेदारीले हाम्रो अनुसन्धान र विकास (आरएन्डडी) हबहरू जयपुरको इनोभेसन एन्ड टेक्नोलोजी (सीआईटी) र जर्मनीको हाम्रो टेक सेन्टरमा गरिरहिएका कामलाई थप विस्तार गर्नेछ । हीरो र गोगोरोको दृष्टिकोण र प्रतिबद्धता भारत तथा विश्वभर स्मार्ट, दिगो इलेक्ट्रिक मोबिलिटीको परिवर्तनलाई गति लिने साझा लक्ष्यको पूर्ण अनुरुप छ । यस नयाँ साझेदारीको साथ पहिले भारतमा र त्यसपछि विश्वका अन्य बजारहरूमा हामी दिगो मोबिलिटीको सुरुवात गर्न प्रतिबद्ध छौं,” उनले भने ।
गोगोरो इंकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत होरेस ल्युकले भने, “हीरो–गोगोरो साझेदारीले यी चुनौतीहरूलाई सम्बोधन गर्छ । स्मार्ट सवारी साधन उपलब्ध गराउने गोगोरोको अग्रणी औद्योगिक नवप्रवर्तन र गोगोरो नेटवर्कको ब्याट्री स्वापिङयुक्त नवीकरणीय ऊर्जाले हीरोको बजार सबलतालाई लाभ प्रदान गर्नेछ ।”
गोगोरो नेटवर्क एक हाइपर–इफिसियन्ट ब्याट्री स्वापिङ प्लेटफर्म हो जुन फ्रस्ट एन्ड सुलिभानले ‘ग्लोबल स्वापेबल ब्याट्री इलेक्ट्रिक स्कुटर मार्केट’को सन् २०२० मा कम्पनी अफ द ईयर अवार्ड सम्मानित भएको छ।
३ लाख ७५ हजारभन्दा बढी सवारी चालक र २ हजार ब्याट्री स्वापिङ स्टेशनहरूको साथमा गोगोरो नेटवर्कले दैनिक २ लाख ६५ हजार ब्याट्री स्वाप गर्दछ । हालसम्म गोगोरोले १७ करोड ४० लाखभन्दा बढी ब्याट्री स्वाप गरिसकेको बताईएको छ।
हिरोले १० करोडभन्दा बढी मोटरसाइकल र स्कूटर बिक्री गरिसकेको उल्लेख छ। हिरो मोटोकर्पले हाल एसिया, अफ्रिका, मध्यपूर्व, दक्षिण र मध्यअमेरिकाका ४० भन्दा बढी देशहरूमा आफ्ना उत्पादनहरू बिक्री गर्दै आएको जनाएको छ।
प्रकाशित: १० बैशाख २०७८, शुक्रबार