
काठमाडौं ।
काठमाडौं, ६ भदौ । विश्व बजारमा स्मार्टफोनको बिक्रीमा निकै वृद्धि भएको छ । तर यो वृद्धि सन् २०१३ को तुलनामा अहिले सबैभन्दा ढिलो गतिको वृद्धि देखिएको छ । अनुसन्धानमूलक संस्था गार्टनरले गरेको अनुसन्धानले सन् २०१३ पछि सन् २०१५ को दोस्रो चौमासीकमा सबैभन्दा कम वृद्धि दर देखिएको हो ।
सन् २०१५ को दोस्रो चौमासीकमा विश्वभर स्मार्टफोनको बिक्री कुल ३३० मिलियन यूनिट भएको छ, जुन अघिल्लो वर्षको सोहि अवधिको तुलनामा १३.५ प्रतिशतले अधिक हो ।
सन् २०१५ को दोस्रो चौमासीकमा कम मूल्यका थ्रीजी तथा फोरजी स्मार्टफोनको माग विकासशील बजारमा बढिरहेको हुँदा स्मार्टफोनको बजार पनि बढेको गार्टनरका अनुसन्धान निर्देशक अंशुल गुप्ताले बताए ।
यो अवधिमा एशिया प्याशिफिक ( चीन बाहेक), पूर्वी यूरोप, मध्यपूर्व तथा अफ्रिका द्रूत गतिमा बढिरहेका स्मार्टफोनका बजार हुन । जहाँ स्थानिय कम्पनी तथा चीनीयाँ कम्पनीहरुको उपस्थिती राम्रो रहेको छ । तर चीनियाँ बजारमा भने पहिलो पटक स्मार्टफोनको बार्षिक बिक्रीमा कमी देखिएको छ । यो अवधिमा चीनमा ४ प्रतिशतको कमी आएको छ ।
गार्टनरका अनुसार स्मार्टफोनको विश्व बजारमा सबैभन्दा बढि बजार हिस्सा ओगटेर कोरियाली कम्पनी सामसुंग अग्रस्थानमा रहेको छ । सन् २०१५ को दोस्रो चौमासीकमा बजारमा सामसुंगको हिस्सा २१.९ प्रतिशत रहेको छ । सो अवधिमा सामसुंगले एप्पललाई पनि उछिनेर ७ करोड २० लाख भन्दा बढि यूनिट स्मार्टफोन बिक्री गर्न सफल भयो ।
विश्वको सबैभन्दा मूल्यवान कम्पनीको रुपमा परिचित एप्पलले सन् २०१५ को दोस्रो स्थानमा रहेको छ जसको बजार हिस्सा १४.६ प्रतिशत रहेको गार्टनरको अनुसन्धानमा देखिएको छ । एप्पलले सो अवधिमा ४ करोड ८० लाख भन्दा बढि यूनिट स्मार्टफोन बिक्री गर्न सफल भएको छ ।
त्यसैगरी तेस्रो नम्बरमा चीनियाँ कम्पनी हुवावे रहेको छ, जसको बजार हिस्सा ७.८ प्रतिशत रहेको छ । हुवावेले सोहि अवधिमा २ करोड ५० लाख भन्दा बढि यूनिट स्मार्टफोन बिक्री गरेको छ ।
अधिक स्मार्टफोन बिक्री गर्ने सूचीमा लेनोभो चौथो नम्बरमा छ जसले यो अबधिमा १ करोड ६४ लाख भन्दा बढि यूनिट स्मार्टफोन बेचेको छ भने पाँचौ नम्बरमा रहेको शिओमीले पनि १ करोड ६० लाख भन्दा बढि स्मार्टफोन बेच्न सफल भएको छ ।
अपरेटिंग सिष्टमको आधारमा हेर्दा स्मार्टफोन बिक्रीको सूचीमा एन्ड्रोयड अपरेटिंग सिष्टम पहिलो स्थानमा छ जसको बजार हिस्सा ८२.२ प्रतिशत रहेको छ । त्यस्तै एप्पलको आईओएसको बजार हिस्सा १४.६ प्रतिशत तथा तेस्रो स्थानमा रहेको विण्डोज अपरेटिंग सिष्टमको हिस्सा २.५ प्रतिशत रहेको छ । अपरेटिंग सिष्टमको आधारमा ब्ल्याकबेरी अझैपनि ०.३ प्रतिशत हिस्सा सहित चौथो नम्बरमा रहेको छ भने अन्य अपरेटिंग सिष्टमको बजार हिस्सा ०.३ प्रतिशत मात्र रहेको छ ।
उता विश्व बजारमा सबै प्रकारका मोबाइल फोन बिक्रीको आधारमा हेर्दा पनि सामसुंग नै पहिलो स्थानमा रहेको छ, जसको बजार हिस्सा दोस्रो चौमासिकमा १९.९ प्रतिशत रहेको छ भने एप्पल १०.८ प्रतिशत बजार हिस्सा सहित दोस्रो स्थानमा रहेको छ । अधिक मोबाइल फोन बिक्रीको आधारमा माइक्रोसफ्ट तेस्रो, हुवावे चौथो, एलजी इलेक्ट्रोनिक्स पाँचौं, लेनोभो छैठौं, शिओमी सातौं, टिसिएल कम्यूनिकेशन आठौं, जेडटिई नवौं तथा भारतीय कम्पनी माइक्रोम्याक्स १० नम्बरमा रहन सफल भएका छन् ।
यो सूचीमा केबल एक भारतीय ब्राण्ड माइक्रोम्याक्स पर्न सफल भएको छ, जसले सन् २०१५ को दोस्रो चौमासीकमा करिब १ करोड मोबाइल सेट बिक्री गर्दै २.२ विश्व बजारको हिस्सा ओगटेको छ ।
प्रकाशित: ६ भाद्र २०७२, आईतवार