एप्पलले आफ्नो सोलार फार्ममा टेस्लाको मेगाप्याक ब्याट्री प्रयोग गर्ने

  • Technology Khabar | २० चैत्र २०७७, शुक्रबार
एप्पलले आफ्नो सोलार फार्ममा टेस्लाको मेगाप्याक ब्याट्री प्रयोग गर्ने

काठमाडौं ।

एप्पलले आफ्नो नयाँ ब्याट्रीमा आधारित नवीकरणीय उर्जा संग्रह केन्द्रमा टेस्लाले विकास गरेको मेगाप्याक ब्याट्री प्रयोग गर्ने भएको छ। कम्पनीले क्यालिफोर्नियामा ब्याट्रीमा आधारित सैर्य उर्जा संग्रह केन्द्र निर्माण गर्न लागेको बुधबार घोषणा गरेको थियो।

एप्पलका अनुसार उक्त केन्द्रले २४० मेगावाट आवर उर्जा संग्रह गर्न सक्नेछ। यो परिमाणको उर्जाले कम्तीमा ७ हजार घरधुरी एक दिनका लागि उजिल्याउन सकिन्छ।

उक्त संग्रह केन्द्रमा टेस्लाको ८५ वटा मेगाप्याक ब्याट्रीहरु प्रयोगमा ल्याइनेछन्। यिनीहरुमा संग्रहित उर्जा कम्पनीको मुख्यालयमा उपयोग गरिनेछ।

विद्युतीय सवारीका क्षेत्रमा बहुचर्चित कम्पनी टेस्लाले केही वर्षयता सैर्य उर्जासम्बन्धी व्यवसायमा पनि हात हालेको छ।

उक्त कम्पनीले सन् २०१६ मा २ अर्ब ६० लाख डलरमा सोलारसिटी नामको सैर्य उर्जा कम्पनी खरिद गरेर यो क्षेत्रमा प्रवेश गरेको थियो।

तर उक्त व्यवसायले हालसम्म लगानी अनुसारको नाफा निकाल्न सकेको छैन। ‘सौर्य उर्जा उत्पादन र संग्रह’ ले कम्पनीको सन् २०२० को कुल कमाइमा ६ प्रतिशत मात्र योगदान गर्न सकेको कम्पनीको वार्षिक लेखापरीक्षणले देखाएको थियो। तर सन् २०१९ मा भने यो क्षेत्रले ३० प्रतिशतसम्म योगदान गरेको थियो।

यी दुई ठूला टेक जायन्टहरुबीचको साझेदारीका बारेमा पहिलो पटक द भर्जले समाचार सार्वजनिक गरेको थियो। यसबारेमा टेस्लाले भने कुनै प्रतिक्रिया जनाएको छैन।

प्रकाशित: २० चैत्र २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार