आईपी टिभी एप्समार्फत भईरहेको प्रसारण गैरकानूनी भएको भन्दै सेवा रोक्न माग गर्दै रिट दायर

  • Technology Khabar | ६ पुष २०७७, सोमबार

काठमाडौं ।

सरकारले क्लिनफिड लागुगरेसँगै आईपी टिभी बन्द गर्न केबल टिभी व्यवसायीहरुले शुरुवातदेखि नै माग गरिरहेका छन् । यहि विषयमा हाल सरकारको विरुद्ध मुद्धा परेको छ।

एन्ड्रोइड आईपी टिभी बक्समार्फत एप्लिकेसनबाट हुने विज्ञापनरहित टिभी र भिडिओ प्रसारण रोक्न माग गर्दै सर्बोच्च अदालतमा मुद्दा दायर भएको हो।

इन्टरनेट सेवा प्रदायक कम्पनीले पछिल्लो समयमा इन्टरनेटसँगै दिने गरेको आईपी टिभी सेवामा अवैध एप्स प्रयोग भएको भन्दै सर्बोच्च अदालतमा रिट दर्ता भएको हो ।

अधिवक्ता विश्वेश्वरप्रसाद गौतमले विज्ञापन नियमन गर्ने ऐन, राष्ट्रिय प्रसारण नियमावलीविरुद्ध डाउनलिंक अनुमति नलिएका विदेशी टेलिभिजन तथा भिडियो सामाग्री एप्लिकेसनहरु मार्फत प्रसारण भएको भन्दै त्यसलाई रोक्न माग गर्दै रिट दायर गरेको अनलाइनखबरको रिपोर्टमा उल्लेख छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसराण विभाग नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाएर परमादेश लगायतका उपयुक्त आदेश माग गर्दै रिट परेको हो ।

गत कात्तिक ७ गतेदेखि क्लिन फिड लागू भएको छ । तर, आईपी टिभीले प्रयोग गरेका सेटटप बक्स एन्ड्रोइडमा आधारित भएकाले त्यसमा एपहरु डाउनलोड गरेर चलाउने गरिएको छ ।

त्यस्ता एपले विज्ञापनसहितको सेवा उपलब्ध गराउने गरेका छन् भने प्रिमियम सेवामा मात्र विज्ञापनरहित हुने गरेको छ।

युट्युब, हटस्टार, हंगामा, आजतक, अस्था लगायतका एपहरु डाउनलोड गरेर क्लिन फिड नगरी भिडियो समाग्री प्रसारण भइरहेकाले त्यसलाई रोक्न व्यवसायीले माग गर्दै आएका छन् ।

अझ मोबाइलमा पनि एन्ड्रोइड र आईओएसमा विभिन्न एपहरु डाउनलोड गरेर अनलाइन र (ओभर दि टप) ओटीटीको माध्यमबाट डाउनलिंक अनुमति नलिएका र क्लिन फिड नगरिएका सामग्री प्रसारण भइरहेको रिटमा उल्लेख छ । त्यस्ता एपलाई प्रतिबन्ध गर्नुपर्ने माग गरिएको छ।

आईपी टिभीका एन्ड्रोइड बक्समार्फत युट्युब लगायतका भिडिओ प्लेटर्फमबाट विज्ञापनरहित सामाग्री प्रसारण भइरहेकाले अन्तरिम आदेशमार्फत नै त्यसलाई रोक लगाउन माग गरिएको छ।

नेपालमा नेटटिभी, प्रभु टिभी, मेरो टिभीलगायतले आईपी टिभी सेवा प्रदान गर्दै आएका छन् । यी आईपी टिभी कम्पनीहरुले इन्टरनेट सेवा प्रदायकसँगको सहकार्यमा ग्राहकहरुलाई सेवा उपलब्ध गराउँदै आएका छन् ।

प्रकाशित: ६ पुष २०७७, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

केयुमा ‘आइटी–मिट’को आयोजना

  • Technology Khabar
  • ९ पुष २०८२, बुधबार