ताजा समाचार

अनलाइनबाटै सिकाइ सुनिश्चित गर्दै सरकारी विद्यालयहरु

अनलाइनबाटै सिकाइ सुनिश्चित गर्दै सरकारी विद्यालयहरु
सांकेतिक फाइल तस्बिर
Global IME Bank

कोरोना भाइरस (कोभिड–१९)का कारण जाडो अवधिमा काठमाडौँ महानगर क्षेत्रमा विद्यालय खुल्ने सम्भावना न्यून भएपछि विद्यालयहरू वैकल्पिक विधिको पठनपाठनलाई नै थप प्रभावकारी बनाउने तयारीमा जुटेका छन् ।

भौतिक रूपले विद्यालय खुल्ने सम्भावना अब कम्तीमा पनि पुस महिनाभरि नरहेपछि वैकल्पिक मध्येको अनलाइन प्रणालीलाई नै प्रभावकारी बनाइने भएको हो । यस वर्षको शैक्षिक सत्र नै भर्चुअल रूपमा नै सकिन सक्ने सम्भावनासमेत देखिएका कारण यसलाई प्रभावकारी बनाउने र छुटेका विद्यार्थीलाई समेत जोड्ने कार्यमा आफूहरू लागेको जानकारी विद्यालयका प्रधानाध्यापकले दिएका छन् ।

राजधानीको जनकल्याण माध्यमिक विद्यालयले कोरोना भाइरसका कारण विद्यालयको नियमित सम्पर्क आउन नसकेका विद्यार्थीको खोजी कार्य थालेको छ । विद्यालयमा अध्ययनरत पुराना विद्यार्थीमध्ये झन्डै दुई सयको हाराहारीमा विद्यार्थी अझै विद्यालयको सम्पर्कमा छैनन् ।

विद्यालयका प्रधानाध्यापक कुमारीकमला राईका अनुसार छुटेका विद्यार्थी खोजीका लागि कक्षा शिक्षक तथा अन्य शिक्षक जुटेका छन् । विशेषगरी महानगरका सिमाना क्षेत्रका विद्यालयलाई समस्या भएको प्रअ राईले बताए ।

राजधानीको नन्दी माध्यमिक विद्यालयका प्रधानाध्यापक गीता काफ्लेले भौतिक रूपले कक्षा सञ्चालनका लागि महानगरपालिकाले अनुमति नदिएको अवस्थामा अनलाइनलाई नै प्रभावकारी बनाउनुपर्ने सुझाव धेरैतिरबाट प्राप्त भएको बताईन् । उनले अब अनलाइनलाई नै थप प्रभावकारी बनाउनुपर्ने र आफूहरू पनि यसमा नै जुटेको बताईन् । उनले गत असारबाटै नै आफूहरूले अनलाइन कक्षा सञ्चालन गरेको र शिक्षकहरू पनि यसमा अभ्यस्त भएका कारण अब यसकै माध्यमबाट न्यूनतम सिकाइको सुनिश्चितता गर्न सकिने उल्लेख गरिन् । पूर्ण रूपमा विद्यालय नखुल्ने अवस्थामा अनलाइन नजोडिएका विद्यार्थीलाई भौतिक रूपमा विद्यालयमा बोलाएर भए पनि सहजीकरण गरिएको छ ।

राजधानीको दरबार हाई स्कुलका प्रअ अखिलेश आजादले माथिल्लो कक्षा ८० प्रतिशत विद्यार्थी अनलाइनमा जोडिएकाले यसमा समस्या नहुने बताए । भौतिक कक्षा सञ्चालन नभएको अवस्थामा अनलाइनलाई नै प्रभावकारी बनाउनुको अर्को विकल्प नभएको उनको भनाइ छ। गोरखापत्रबाट

Sajilo Visa
easy care