एनआईसी एशिया बैंकमा मोबाइल बैंकिङबाटै ग्राहकले मुद्दती खाता खोल्न सक्ने

  • Technology Khabar | १८ मंसिर २०७७, बिहीबार
एनआईसी एशिया बैंकमा मोबाइल बैंकिङबाटै ग्राहकले मुद्दती खाता खोल्न सक्ने

काठमाडौं ।

डिजिटल बैंकिङमा अग्रणी स्थानमा रहि नविनतम प्रविधिद्वारा वित्तीय सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङमार्फत ग्राहकले मुद्दती खाता खोल्न सक्ने सुविधाको थालनी गरेको छ ।

डिजिटल बैंकिङको प्रवद्र्धनका साथै आफ्ना ग्राहकलाई अनलाइन माध्यमबाट मुद्दती खाता खोल्ने सुविधा दिई सहज बैंकिङको प्रत्याभूति गराउन बैंकले यस नवीन सेवा शुरू गरेको हो ।

बैंकका ग्राहकले एनआईसी एशिया मोबाइल बैंक एपमा रहेको ‘फिक्स डिपोजिट’ आइकनमा ट्याप गरी जुनसुकै स्थान तथा समयमा मुद्दती खाता खोल्न सक्ने बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले जानकारी दिए ।

‘बैंकमा ग्राहकले कम्तिमा ३ महिनादेखि अधिकतम १० वर्षभन्दा बढी समयका लागि व्यक्तिगत मुद्दती निक्षेप गर्न सक्नुहुनेछ भने वार्षिक ब्याजदर सुविधा क्रमशः ७.२५ देखि ९.७५ प्रतिशतसम्म प्राप्त गर्न सक्नुहुनेछ,’ विज्ञप्तिमा उल्लेख छ, ‘मोबाइल बैंकिङमार्फत मुद्दती खाता खोल्नु हुने ग्राहक महानुभावहरूलाई प्रोत्साहनस्वरूप बैंकले प्रकाशित सम्पूर्ण किसिमका मुद्दती निक्षेपको ब्याजदरमा ०.५ प्रतिशत थप गर्ने व्यवस्था गरेको छ ।’

‘सोच बदलौं’ भन्ने नारालाई आत्मसात गर्दै आइरहेको यस बैंकले ल्याएका यो सुविधा अन्तर्गत स्वचालित पद्धतीअनुरूप ग्राहक महानुभावहरूले क्षणभरमै मुद्दती खाता खोली बिना कुनै झन्झट उच्चतम ब्याजदरले भरिपूर्ण मुद्दती निक्षेपको फाइदा लिन सक्नेछन् । बैंकले हाल शाखा कार्यालयहरू तथा वेबसाइटमार्फत मुद्दती खाता खोल्ने सुविधा दिँदै आएकोमा अब मोबाइल बैंकिङमार्फत थालनी गरिएको यस सुविधाबाट ग्राहकले अझ सहज रूपमा मुद्दती खाता खोल्न सक्नेछन् ।

प्रकाशित: १८ मंसिर २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार